काठमाडौं । आठौं महाधिवेशनमा होमिएको नेकपा (माओवादी केन्द्र) ले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि आज दिनभर मतदाता नामावली संकलन गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।
माओवादीमा देशभरबाट १६०८ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । आज (बुधबार) मतदाता नामावलीको संकलन गरिसकेपछि भोलि नामावली प्रकाशन, दाबी विरोध र अन्तिम सूची प्रकाशन हुने र त्यसपछि निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने माओवादीको तयारी छ ।
निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिमा नेतृत्व चयनको प्रक्रिया पनि जारी राख्ने तयारी माओवादीले जनाएको छ । अन्तिम सम्म पनि सहमतिको प्रयास नभए क्लस्टरसहित केन्द्रीय सदस्यको लागि चुनावमा जाने गरी माओवादीले निर्वाचन प्रक्रिया अघि बढाएको छ ।