२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर

एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले आमनिर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्दै पार्टी पुनर्जागरण, वैचारिक तथा सांगठनिक रूपान्तरण र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

ललितपुरको रामबाग पार्टी प्यालेसमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्दै ‘अन्तरपार्टी निर्देशन–३’ (अपानी–३) जारी गरेको हो ।

बैठकले निर्वाचन परिणामको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले स्वीकार गर्नुभएको उल्लेख गर्दै संकटको समयमा मैदान छाडेर नभाग्ने र एमालेलाई पुनः प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।

एमालेले निर्वाचनमा पराजय हुनुका चार प्रमुख कारण पहिचान गरेको छ । बाह्य राजनीतिक आक्रमण, भूराजनीतिक स्वार्थ, डिजिटल माध्यमबाट भएको चरित्रहत्या तथा भ्रमपूर्ण प्रचारलाई पहिलो कारणका रूपमा औँल्याइएको छ । त्यस्तै बेरोजगारी, महँगी, भ्रष्टाचार र सेवा प्रवाहमा देखिएको कमजोरीलाई संरचनात्मक असन्तोषका रूपमा विश्लेषण गरिएको छ ।

पार्टीभित्रको जनतासँगको दूरी, युवासँगको संवादको कमी, सांगठनिक सुस्तता र सञ्चार क्षेत्रमा देखिएको कमजोरीलाई आन्तरिक कमजोरीका रूपमा उल्लेख गरिएको छ । नयाँ शक्तिप्रतिको आकर्षण, भावनात्मक लहर र पुराना दललाई सजाय दिने मनोविज्ञानलाई पनि निर्वाचन परिणाम प्रभावित गर्ने कारणका रूपमा एमालेले विश्लेषण गरेको छ ।

बैठकले पार्टीमा रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ । इतिहास र बलिदानको जगमा उभिएर कार्यशैली, भाषा, प्रविधि र निर्णय प्रक्रियामा समयानुकूल परिवर्तन गर्ने बताउँदै नेतृत्व हस्तान्तरण विधि, परिपक्वता र प्रक्रियाका आधारमा हुनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै पुरानो र नयाँ पुस्ताबीच द्वन्द्व सिर्जना गर्नुको सट्टा अनुभव, प्रविधि र ऊर्जाको संयोजन गर्दै तीन पुस्ताबीचको एकता कायम गर्ने नीति लिइएको छ ।

एमालेले तत्कालका लागि दुई प्रमुख कार्यभारसमेत तय गरेको छ । संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै न्यायपालिका, संसद्, नागरिक अधिकार तथा संघीय संरचनाको संरक्षण गर्ने र आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनको तयारीमा जुट्ने निर्णय गरिएको छ । त्यसका लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने उल्लेख छ ।

पार्टी सुदृढीकरणका लागि सत्य संवाद तथा घरदैलो अभियान सञ्चालन गर्ने, महँगी, बेरोजगारी र जनजीविकाका सवालमा केन्द्रित हुँदै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एमालेले डिजिटल माध्यमबाट हुने प्रचार तथा भ्रमको प्रतिवाद गर्न केन्द्रीय प्रविधि संयन्त्र निर्माण गर्ने, युवा तथा महिला नेतृत्वलाई कोटामा मात्र सीमित नराखी नीति निर्माण र निर्णय प्रक्रियामा निर्णायक भूमिका दिने तथा नीति अनुसन्धान र तथ्यमा आधारित ‘ज्ञानमा आधारित पार्टी’ निर्माण गर्ने नीति अघि सारेको छ । साथै, जनताको बहुदलीय जनवाद (जबज) को समसामयिक पुनर्व्याख्या गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

बैठकले पार्टी अनुशासनमा समेत कडाइ गर्ने निर्णय गरेको छ । तेस्रो केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ’ बैठकका रूपमा लिँदै अबदेखि पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक आलोचना, गुटबन्दी वा अनुशासनहीन गतिविधि गरेमा केन्द्रीय संगठन विभागमार्फत स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही गर्ने निर्णय गरिएको छ ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान संशोधन गरी अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ मनोनयन गरिएको छ । बैठकले केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा रिक्त स्थानमा नयाँ सदस्यहरूको मनोनयन गर्नुका साथै स्थायी कमिटी सदस्यहरूको निर्वाचनसमेत सम्पन्न गरेको छ ।

बैठकले समसामयिक विषयमा २२ वटा प्रस्तावसमेत पारित गरेको छ । भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल पुनर्स्थापना, बेपत्ताको खोजी र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै ग्यास तथा खाद्यवस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न, अव्यवस्थित रूपमा सुकुम्बासी विस्थापन रोक्न तथा करको दायरा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराइएको एमालेले जनाएको छ ।