काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महर्जनले मंगलबार राष्ट्रिय सभागृह पुगेर खुलातर्फ केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महर्जनले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु सामान्य भएको बताउनुभयो । उहाँले पार्टी सभापतिमा गगनकुमार थापा भारी मतसहित निर्वाचित हुने दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो । प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो । यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन । तर लेखिराख्नुस्, गगनकुमार थापा धेरै भोट ल्याएर उहाँ जित्नुहुन्छ ।’
महर्जन ललितपुर महानगरपालिकाको दुई कार्यकाल मेयर भइसक्नुभएको छ । संविधानले स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित हुन बन्देज लगाएकाले उहाँ अब पार्टी राजनीतिमा सक्रिय हुने तयारीमा लाग्नुभएको हो ।







