काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले झापा आन्दोलनका नेता तथा वरिष्ठ वामपन्थी नेता स्वर्गीय घनेन्द्र बस्नेतको परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको छ।
भण्डारीले बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो। भेटका क्रममा उहाँले स्वर्गीय बस्नेतले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्नुभएको थियो।
झापा आन्दोलनमार्फत नेपालको वामपन्थी आन्दोलनलाई अघि बढाउन बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले नेपाली वामपन्थी आन्दोलनमा क्षति पुगेको भण्डारीले बताउनुभएको थियो।
भेटका क्रममा भण्डारीले दिवंगत बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई यस दुःखद् घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको थियो।








