१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो



अ+ अ-

काठमाडौँ । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आ.व.को कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ ।

२०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ ।

२०८१ कात्तिकमा वाणिज्य बैंकको निक्षेप तथा कर्जाको भारित औसत व्याजदर क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ ।

२०८२ कात्तिक मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ कात्तिक मसान्तमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ को सोहि अवधिमा ११ हजार ५ सय १६ रहेको छ । यस अवधिमा एटिएम बुथको संख्या भने ४४ ले थप भई ५ हजार २६८ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशत रहेको छ ।