काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २० लाख सहयोग गर्ने भएको छ।
कमिटीको सचिवालयको आकस्मिक बैठकले मातृभूमिप्रतिको दायित्व आत्मसात गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकको तत्काल राहत तथा सहयोगका लागि कमिटीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
कमिटीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता पनि जनाइएको छ।
उक्त रकम बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकको तत्काल आवश्यकतालाई प्राथमिकता दिई राहत तथा सहयोगमा परिचालन गरिने मञ्चले जनाएको छ।
वास्तविक पीडितसम्म सहयोग प्रभावकारी, न्यायोचित र पारदर्शी रूपमा पुर्याउन सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग समन्वय गरिने विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, प्रवासी नेपाली मञ्चले ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी, सामाजिक तथा सामुदायिक संघसंस्था र सम्पूर्ण नेपाली समुदायलाई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा मानवीय भावनाका साथ सहयोग गर्न मञ्चले आह्वान गरेको छ।









