१६ श्रावण २०८३, शनिबार
,
Latest
एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय तीन वर्षिया वृद्धाको मस्तिष्कको जटिल शल्यक्रिया



अ+ अ-

काठमाडौँ। वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ । कोटेश्वर बस्ने १०३ वर्षीया वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

अचेत अवस्थामा अस्पताल आइपुगेकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तश्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरिएको उपचारमा संलग्न चिकित्सक तथा न्यूरो सर्जरी विभागका प्रमुख प्रा डा राजीव झाले जानकारी दिनुभयो ।

“उहाँ अस्पताल आइपुग्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।  विस्तृत जाँच परीक्षण पछि उहाँको मस्तिष्कमा धेरै ठूलो रक्तश्राव भइरहेको पत्ता लाग्यो र तुरुन्तै न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो”, डा झाले  भन्नुभयो, “यस्तो उमेरमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो । न्यूरोसर्जरी विभागको टोलीले छलफल र बिरामीको परिवारसँगको परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णयमा हामी पुग्यौँ र शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो ।” झाका अनुसार शल्यक्रियापश्चात् बिरामीको उल्लेखनीय सुधार देखिएको छ ।

झाको नेतृत्वको शल्यक्रियामा डा समीर अर्याल, डा नम्रता खड्का, डा आयुष विमली, स्टार्फनर्स सिन्धु गौतमलगायत रहनुभएको थियो । बिरामी हाल होसमा रहेको र बोल्नसक्ने अवस्था, आफैँ खाना खानसक्ने हुनुभएको छ ।

उहाँले १०० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै दुर्लभ मानिने बताउनुभयो । बिरामीको पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटकपटक लड्नेजस्ता समस्या देखिएको थियो । रासस