१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान
अ अ+ अ-

मनाङ, १३ पुस : हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उहाँले बताउनुभयो ।

“हिउँ चितुवा हिमाली पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो । यसको उपस्थिति सुरक्षित छभने उक्त क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणाली सन्तुलन पनि राम्रो अवस्थामा रहेको मानिन्छ”, प्रमुख भुजेलले भन्नुभयो । मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) सङ्कलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।

सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो । समुद्री सतहबाट करिब तीन हजार २०० मिटरदेखि पाँच हजार २०० मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताउनुभयो ।

यी क्षेत्रमा अल्पाइन घाँसेमैदान, शङ्कुधारी वन प्याच, सुक्खा नदीक्षेत्र, रिजलाइन र जनावरका बाटो समावेश गरिएका छन् । हिउँ चितुवा र तिनीहरूको सिकारका लागि प्रमुख बासस्थान हुन् । यस क्षेत्रमा कुल १२९ क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । क्यामेराले हिमाली ब्वाँसाको अध्ययन गर्ने एक अन्तरराष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यात्मक प्रयास पनि समावेश गरी सर्वेक्षण भइरहेका छ । अनुसन्धानकर्ताले २२ क्यामेरा र तथ्याङ्क आदानप्रदान गरिरहेको एक्यापले जनाएको छ ।

“हिउँचितुवा सुरक्षित छभने त्यसको अर्थ नाउर, झारलजस्ता सिकार प्रजाति, घाँसेमैदान र समग्र हिमाली वातावरण पनि सन्तुलित अवस्थामा छ भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो । सन् २०२४ अक्टोबर १४ मा सुरु भएको अनुगमन अध्ययनले विगतमा हिउँ चितुवा विवरण अध्ययन (छेत्री एटअल, २०१७) मा पहिचान गरेको वैज्ञानिकको रूपमा चयन गरिएका ग्रिड कोषलाई भीमथाङ उपत्यकासहित अन्नपूर्ण–मनास्लु क्षेत्र प्रमुख हिउँ चितुवा समेटेको छ ।

यस अध्ययनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र एक्यापले मनाङ ब्लकलाई १४ ग्रिड कोषमा विभाजन गरी प्रत्येकको मापन ५×५ वर्ग किलोमिटर रहेको जनाएको छ । निष्पक्ष र व्यवस्थित तथ्याङ्क सङ्कलन सुनिश्चित गर्न प्रत्येक ग्रिडभित्र अनियमित रूपमा क्यामेरा ट्रयापिङका लागि जडान गरिएको छ ।

मानव बस्ती र पूर्वाधारबाट टाढा जनावरका बाटो, रिजलाइन, वनक्षेत्र, पानीका स्रोत र ज्ञात वा शङ्कास्पद सिकार स्थलमा क्यामेरा ट्रयापिङ गरिएको एक्यापले जनाएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।

भुजेलले भन्नुभयो, “प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब ५० भन्दा बढी अनुमान गरेको छ । सर्वेक्षण जारी रहेकाले अन्तिम तथ्याङ्क आउन बाँकी छ ।” हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा, कस्तुरी मृग, पहेँलो घाँटी भएको मार्टेन्स, हिमाली सेरो, घोरल र चितुवा बिरालोजस्ता विविध वन्यजन्तु प्रजातिको जडान गरेको क्यामेराले रेकर्ड गरेको सर्वेक्षणकर्ताले जनाएको उहाँले जानकारी दिनुभयो । जसले स्वस्थ र सन्तुलित पहाडी पारिस्थितिक प्रणालीलाई प्रतिविम्बित गरेको छ ।

क्यामेरा ट्रयापिङ, स्क्याट सर्वेक्षण र सिकार मूल्याङ्कनमार्फत सङ्कलन गरिएको तथ्याङ्कले मानव वन्यजन्तु द्वन्द्व हटस्पट पहिचान गर्न महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ । यसमा सुधारिएको पशुपालन अभ्यास, सिकार न्यूनीकरण, मौसमी चरन व्यवस्थापन र सहअस्तित्वमा केन्द्रित सामुदायिक जागरूकताजस्ता कार्यक्रमले नागरिकमा सचेतना फैलिएको छ । जसले हिउँ चितुवाको संरक्षणमा टेवा पुगेकाले सङ्ख्या बढ्न सक्ने सर्वेक्षणकर्ताले अनुमान गरेको एक्यापले जनाएको छ ।

एनआरसिए, एनटिएनसी एक्याप मनाङका प्रकाश अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत गोपाल खनाल, एनटिएनसी एक्याप मनाङका ओमबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, यामबहादुर गुरुङ र भक्तसिं गुरुङको सहयोगमा सर्वेक्षण भइरहेको जनाइएको छ ।रासस