१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम



अ+ अ-

राँझा (बाँके), ३ पुस : धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहनुभएको छ । उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाउनुभएको छ । त्यसबापत उहाँले राम्रो आम्दानीसमेत गरिरहनुभएको छ । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहनुभएको छ ।

२५ घारबाट सुरु गरिएको उहाँको व्यावसायिक यात्राले हाल उहाँलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ ।

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कार्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कार्तिके मह प्रतिकिलो रु ५०० र जङ्गली मह रु ७५० मा थोक मूल्यमा बिक्री गरिरहेका छौँ ।” यसरी आम्दानी गर्न उहाँको सङ्घर्ष पनि कम छैन । उहाँले मौषमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गर्नुभएको छ ।

जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिनुभयो । “मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ । मह काड्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु एक लाखसम्म सजिलै कमाउन सकिन्छ ।”

यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उहाँले यस व्यवसायलाई थप व्यवस्थिति गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उहाँले सुनाउनुभयो ।

खत्रीले आत्मविश्वासका साथ भन्नुभयो,“मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । हाल दुई सय ५० घार पु¥याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।”रासस