काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।
बहुविवाह मुद्दामा दोषी ठहर भइसकेका कारण शेर्पाको उम्मेदवारी अमान्य ठहर गरिएको हो।
शेर्पाले आदिवासी–जनजाति खुला समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए। तर बहुविवाह मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको थियो।
उजुरीमाथि छानबिनपछि निर्वाचन आयोगले शेर्पाको उम्मेदवारी खारेज गर्ने निर्णय गर्दै अन्तिम उम्मेदवार सूचीबाट उनको नाम हटाएको छ।
शेर्पालाई पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय सदस्यको सूचीमा समावेश गरेको थियो।










