काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिकाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेता आङदेम्बेले आज विज्ञप्तिमार्फत तीज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताउनुभएको छ । उहाँले तीजले नेपाली समाजमा आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।
समयसँगै समाज परिवर्तन हुँदै गएको र महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको बताउदै नेता आङ्देम्बेले राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
उहाँले तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।
नेता आङदेम्बेले हरितालिका तीजको पावन अवसरले आपसी सद्भाव अझ मजबुत बनाउँदै नेपाली समाजलाई थप न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।








