काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा अन्तर जिल्ला तथा निर्वाचन क्षेत्र मतदानको प्रभावकारी व्यवस्था मिलाइदिन निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त समक्ष ज्ञापनपत्र बुझाएको छ ।
यसबाट नागरिकले आफ्नो बसोबास रहेको जिल्ला वा निकटतम् मतदान केन्द्रबाट सहज रूपमा मतदान गर्न पाउनेछन् । जसले समग्र रूपमा निर्वाचनमा जनसहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने सो पार्टीको बुझाइ छ ।
आज निर्वाचन आयोगका कावा प्रमुख आयुक्त रामप्रसाद भण्डारीसमक्ष उहाँहरूले बुझाएको ज्ञापनपत्रमा नेपालको निर्वाचन प्रक्रियालाई अझ समावेशी, सहभागितामूलक र प्रभावकारी बनाउन पार्टीले ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, “हाल देशभर रोजगार, अध्ययन, उपचार तथा विविध कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गर्ने नागरिकको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेको छ ।
यस्ता नागरिकका लागि हाल उपलब्ध मतदान प्रक्रियाले पर्याप्त सुविधा नदिएको हुँदा उनीहरू आफ्नो मतदान अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।”रासस










