धनकुटा । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि धनकुटामा गरिएको प्रतिनिधि छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको भन्दै केन्द्रीय संगठन विभागले पुनः निर्वाचन गर्न निर्देशन दिएको छ।
मंसिर १३ गते सम्पन्न प्रतिनिधि छनौट निर्वाचनमा अनियमितता भएको गुनासो आएपछि विभाग प्रमुख काशिनाथ अधिकारीले पत्रमार्फत पाँच दिनभित्र पुनः निर्वाचनको प्रक्रिया अघि बढाउन स्थानीय नेतृत्वलाई निर्देशन दिएका हुन्।
पत्रमा प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना प्रवाह गर्न, पालिका–स्तरमा मतदान केन्द्र व्यवस्थापन गर्न तथा निर्धारित नियमअनुसार प्रक्रिया सञ्चालन गर्न भनिएको छ।
पुनः निर्वाचन प्रक्रियामा सहजीकरण गर्न एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र धनकुटा जिल्ला इञ्चार्ज राजेन्द्रलाई दायित्व तोकिएको छ।
धनकुटामा भएको प्रतिनिधि छनौटमा धाँधली गर्दै सबै १३ जना प्रतिनिधि एक पक्षीय रूपमा चयन गरिएको आरोप प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणी पराजुली समूहले लगाउँदै आएको छ। पराजुली समूहले निर्वाचन नमान्ने र पुनः निर्वाचनको माग गर्दै निरन्तर विरोध जनाइरहेका छन्।










