काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताउनु भयो ।
नेपाली काँग्रेसले विगतमा गरेको योगदान बुझ्न राणाकालीन अवस्था, गरिबी तथा निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको उहाँको भनाइ छ ।
देउवाले अग्रजहरूले ज्यानको आहुति र लामो संघर्षबाट मुलुकलाई अहिलेको अवस्थामा ल्याइपु¥याएको उल्लेख गर्दै इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । उहाँले राजनीतिक परिवर्तन र पुर्खाहरूको योगदानको इतिहास टोल–टोलसम्म पुर्याउन आग्रह पनि गर्नुभयो ।
उहाँले इतिहासबाट पाठ सिकेर मुलुकको राजनीतिक गन्तव्य तय गर्न सकेमात्र सही बाटो पहिल्याउन सकिने बताउनु भयो । उहाँले विगतमा केही पनि नभएको र सबै खराब भयो भन्ने भाष्यमा समाजमा फैल्याउन लागिएको भन्दै यसले मुलुकलाई झन कमजोर बनाउने बतानउनु भयो ।
उहाँले भन्नुभयो,‘समाजमा अहिले पनि निराशा देखिएको छ । यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले लिनुपर्दछ । नेपाली काँग्रेसले विगतमा के गर्यो भन्ने कुराको जवाफ खोज्न २००७ साल अघिको राणाकालीन अवस्था, त्यो बेलाको गरिबी र पछिको निरङ्कुश निर्दलीय व्यवस्था, त्यो बेला नेपाली काँग्रेसले जनअधिकारको पक्षमा गरेको काम सबैले बुझ्न आवश्यक छ । हाम्रा अग्रजहरुले ज्यानको आहुति दिएर, बलिदानपूर्ण संघर्ष गरेर र अनेक दुःख, कष्ट गरेर मुलुक अहिलेको अवस्थामा आएको हो । हामीले हाम्रो इतिहास बिर्सिने हो भने हाम्रो गन्तव्यमा पुग्न सक्दैनौँ । इतिहासबाट पाठ सिकेर गन्तव्य तय गर्न सकेमात्रै सही बाटो पहिल्याउन सकिन्छ । विगतका कठिन राजनीतिक परिवर्तनका कथाहरु खसमाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरुले पुर्याएको योगदानको राजनीतिक इतिहास टोल टोलमा पुर्याउन अनुरोध गर्न चाहान्छु । विगतमा केही पनि भएको थिएन, जे भयो सब खराब भयो भन्ने भाष्य समाजमा फैल्याउने हो भने मुलुक झनझन कमजोर हुँदै जानेछ । मुलुको विगतको इतिहासमा गर्व गर्नुपर्छ । त्यो वातावरण बनाउने काम नेपाली काँग्रेसको काँधमा आएको छ ।’
उहाँले मुलुकको इतिहासमा गर्व गर्ने वातावरण बनाउने जिम्मेवारी पनि नेपाली काँग्रेसकै काँधमा आएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल











