६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

पलेँटीको मञ्चमा झल्कियो फत्तेमानको सम्झना

पलेँटीको मञ्चमा झल्कियो फत्तेमानको सम्झना
अ+ अ-

काठमाडौँ: गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ । यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो । तारिखले गत शुक्रबार र गतेले गत शनिबार फत्तेमानको ८९ औँ जन्ममिति परेको थियो ।

पलेँटी कार्यक्रम नेपालयले झन्डै २१ वर्ष पहिले सुरु गरेको लघु सांगीतिक अभियान हो ।

झन्डै पौने दुई घण्टासम्म चलेको सो कार्यक्रममा गायक फत्तेमानले गाएका १३ वटा लोकप्रिय गीत प्रस्तुत गरिएका थिए ।

गायक फत्तेमानको अत्यन्तै लोकप्रिय गीत ‘यस्तो पनि हुँदो रहेछ’बाट कार्यक्रमको थालनी भएको थियो । यस गीतको प्रस्तुतिपछि गीति निबन्ध वाचन सुरु भएको थियो । संस्मरणात्मक निबन्धलाई गीतसँगै प्रस्तुत गरिने यस्तो शैलीलाई पलेँटीले ‘गीति निबन्ध’ भन्न सुरु गरेको छ ।

संगीतकार आभासले फत्तेमानमाथि केन्द्रित भएर निबन्ध प्रस्तुत गरेका थिए । गीत र निबन्धको सम्मिश्रण जतिजति अघि बढ्दै जान्थ्यो दर्शक दीर्घामा भावुकताको लहर पनि उतिउति फैलँदै गएको भान पर्थ्यो ।

निबन्धकार आभास गायक फत्तेमानसँग सहकार्य गर्ने पछिल्लो पुस्ताका संगीतकार हुन् । त्यसैले उनको निबन्धमा फत्तेमान र उनीसँग जोडिएका रोचक र भावुक प्रसङ्गहरू उल्लेख भएका थिए । साथै उनको लेखाइमा फत्तेमानका गीतकार, संगीतकारहरूको प्रसङ्गसमेत गहिरो गरी झल्केको सुनिन्थ्यो ।

निबन्धमा आभासले गायक फत्तेमान ७० वर्षको हुँदा एउटा सांगीतिक एल्बम निम्ति सहकार्य गरेको प्रसङ्ग उल्लेख छ । त्यस एल्बमको नाम नै ‘फत्तेमान ७०मा’ राखिएको थियो ।

यसरी विषयको रचनागर्भसँगै गीत सुन्दा श्रोता र दर्शकलाई सृजनाको प्रभावले झनै आकर्षित गरेको अनुभूति हुन्थ्यो ।

संगीतकार तथा गीतकार अम्बर गुरुङको सन्दर्भसँगै दोस्रो प्रस्तुति ‘जीवन हुरीको गीत’ गुञ्जेको थियो । त्यसपछि क्रमशः ‘कस्तो माया लाइएछ’, ‘यति चोट सहनलाई त’, ‘बतासले तलाउमा’, ‘आजभोलि देख्दिनँ म’, ‘रक्तिम अधर छ तिम्रो’, ‘वनै खायो डढेलोले’, ‘रातको सपना बाँकी हुन्न’, ‘घिन्ताङमा घिन्ताङ’, ‘सान्नानीको गालैमा’ र ‘मर्न बरु गाह्रो हुन्न’ बोलका गीत प्रस्तुत भएका थिए ।

कार्यक्रममा प्रस्तुत गीतहरूका संगीतकार र गीतकारमा माधव घिमिरे, नातिकाजी, यादव खरेल, अम्बर गुरुङ, शिवशंकर, राममान तृषित, ज्ञानबहादुर श्रेष्ठ, नारायण गोपाल, कालीप्रसाद रिजाल, अच्युतकृष्ण खरेल, सहदेव राणा, विक्रम सुब्बा, तीर्थराज तुलाधर र मञ्जुलका रचनाहरू समेटिएका थिए ।

कार्यक्रमको समापन कवि मञ्जुलका शब्दमा आभासले भरेको धुनबाट भएको थियो ।

मर्छु र म डुङ्गा बन्छु, आउँदा नदी तार्न सकूँ,

मर्छु र म सम्झना बन्छु, आउँदा आँसु झार्न सकूँ

यस गीतको रचनागर्भमा फत्तेमानले यो गीत अभ्यास गर्दै गर्दा भावुक बन्दै आँखा पुछेको सन्दर्भ उल्लेख भएको हुन्छ । त्यही सन्दर्भसँगै आभासले निबन्धको बिट मार्दा अधिकांश दर्शकका आँखा रसाइरहेका देखिन्थे ।

यसरी गीत र निबन्धलाई जोडेर प्रस्तुत गरिएको पलेँटी कार्यक्रमलाई अधिकांश दर्शकले प्रशंसा गरेका थिए ।

पहिलोपटक ‘आर’शाला प्रवेश गरेर पलेँटीको दर्शक बनेको उल्लेख गर्दै एकजना संगीतप्रेमी वासु श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘रेकर्ड गरिएका तथा काराओकी सुनिरहेको कानमा, प्रत्यक्ष सांगीतिक प्रस्तुतिको प्रभाव अझ बढी हुने रहेछ भन्ने आभास भयो ।’

फत्तेमानको सम्झनामा आयोजित पलेँटीमा गायनको पाटो सम्हालेका थिए; युवा गायक रूपक चौधरीले । कलाकार परिचयको क्रममा रूपकलाई धाप मार्दै संगीतकार आभास भन्दै थिए, ‘भाइ ! मलाई तिम्रो नामको बीचमा मान थप्न मन लाग्यो । गायक रूपकमान चौधरी ।’ दर्शक दीर्घामा छाइरहेको भावुकतालाई हलुका गराउने उद्देश्य थियो सायद उनको । तर रूपकको गायन साँच्चै फत्तेमानको झझल्को दिने खालको थियो । महिला गायक अभिज्ञा घिमिरे अस्वस्थ भएपछि रूपकले एक्लै कार्यक्रम धानेकोमा पनि सन्तुष्ट व्यक्त गर्दै थिए पलेँटीका संयोजक आभास ।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ तबलामा मिलेश तण्डुकार, बाँसुरीमा मिलन घिमिरे, प्रकसनमा सुन्दरकुमार महर्जन, गिटारमा कृपेश लोहनी, बेस गिटारमा सुदीप खत्री र किबोर्डमा सुनिल सिंहको साथ रहेको थियो ।

आउँदो डिसेम्बर महिनाको अन्तिम शुक्रबार र शनिबार (२६ र २७ तारिख) आफ्ना केही नयाँ र पुराना गीतका साथ संगीतकार तथा गायक आभासको प्रस्तुति रहने कुरा आयोजकले जानकारी गराएका छन् ।