१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

लुम्बिनी प्रदेश अस्पतालको अत्याधुनिक भवन निर्माणले गति लिँदै

लुम्बिनी प्रदेश अस्पतालको अत्याधुनिक भवन निर्माणले गति लिँदै
अ अ+ अ-

लुम्बिनी।  लुम्बिनी प्रदेशको गौरव आयोजना मानिएको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण प्रगति सन्तोषजनक देखिएको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ६२ प्रतिशतको पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको यो आयोजनाको ठेक्का सम्झौताअनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पूरा गरिसक्नुपर्ने छ ।

ठेक्का सम्झौता भएको आठ महिनापछि २०८१ भदौ १५ गते मात्र भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएकामा निर्माण सुरु गरिएको १४ महिनामा ३० प्रतिशत भौतिक प्रगति भएको लुम्बिनी प्रदेश सरकार, पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोख्रेलले जानकारी दिनुभयो ।

आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हालसम्म मुख्य भवनको भुइँतल्लाको आधा हिस्साको दायाँ–बायाँ र बीचको भागमा समेत ढलानको काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ ।

यस्तै, क्यान्सर भवनको पहिलो तल्लाको ढलानका लागि काम भइरहेको छ । हालसम्मको प्रगति र कार्ययोजनालाई तुलना गर्दा कार्ययोजनाअनुरुप नै प्रगति गरिरहेको प्रमुख कार्यकारी अधिकृत इन्जिनियर पोखरेलले जानकारी गराउनुभयो । निर्धारित समयभन्दा पहिले नै योजना सम्पन्न गर्नेगरी तीव्र रूपमा काम अघि बढेको उहाँले बताउनुभयो ।

कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा आयोजनालाई सम्झौताको सीमाभन्दा अगाडि नै सम्पन्न गर्नेगरी काम भइरहेको जनाइएको छ । हाल आयोजना निर्माणस्थलमा ३०० बढी जनशक्ति परिचालन गरिएका छन् । सुविधा सम्पन्न दुईवटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकामा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले रु छ अर्ब १८ करोडमा ठेक्का सम्झौता गरेका थिए ।

प्रादेशिक अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा छुट्याएको बजेट पहिलो चार महिनामा नै सकिएको छ । प्रदेश सरकारले चालु आवमा भवन निर्माणका लागि रु एक अर्ब विनियोजन गरेको थियो । उक्त रकम अघिल्लो आवमा भएको कामको भुक्तानीमा सकिएपछि चालु वर्षका लागि बजेट अभाव भएको हो ।

गौरवको आयोजना भनिए पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण कम्पनीले उधारोमा नै काम गरिरहेको जनाइएको छ । पोखरेलका अनुसार सरकारले विनियोजन गरेको रु एक अर्बमध्ये ८५ करोड अघिल्लो वर्षको भुक्तानीमा सकिएको छ । बाँकी रु १५ करोड चालु आवमा भएको कामको भुक्तानी गरिएको छभने कात्तिकसम्म सम्पन्न कामको अझै रु २५ करोड भुक्तानी गर्न बाँकी छ ।

उहाँका अनुसार भवन निर्माणका लागि रकम अभाव भएपछि प्रदेश सरकारसँग थप रु ८० करोड माग गरिएको छ । निर्माण कम्पनीलाई नियमित रूपमा रकम भुक्तानी गर्न सके निर्माणको काम पनि समयमा नै पूरा हुने भएकाले सरकारले पनि रकम थप गर्ने आश्वासन दिएको पोखरेलले बताउनुभयो । “निर्माण कम्पनीले जसरी काम गरिरहेको छ यही गतिमा अगाडि बढ्ने र सरकारले पनि बजेट विनियोजन गर्ने हो भने निर्धारित समयभन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका तर्फबाट भवन निर्माणमा खटिएका इन्जिनियर शङ्कर सुवेदीका अनुसार निर्माण कम्पनीलाई पेस्कीस्वरूप ठेक्का सम्झौताको २० प्रतिशत रकम दिने प्रावधान रहे पनि हाल १८ प्रतिशत रकम मात्र भुक्तानी पाएको बताउनुभयो । यसरी भुक्तानी पाएको पेस्की रकम ३० प्रतिशत काम पूरा नगर्दासम्म काट्न पाइँदैन ।

हालको गतिमा काम भए आगामी असार मसान्तसम्म करिब ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिइएको सुवेदीले बताउनुभयो । “ठेक्का सम्झौता गरिएको अवधिबाट हेर्ने हो भने चालु आर्थिक वर्षभित्र ४७ प्रतिशत काम पूरा गर्नुपर्ने कार्य तालिका छ,” उहाँले भन्नुभयो, “कामको प्रगति हेर्दा यस वर्ष ५० प्रतिशत काम सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।”

निर्माण व्यवस्थापनको अन्तरराष्ट्रिय प्रावधानअनुसार आयोजना व्यवस्थापन तथा निर्माण सुपरिवेक्षण कन्सल्टेन्टका रुपमा जी–टू–जी माध्यमबाट काठमाडौँ विश्वविद्यालयअन्तर्गतको काठमाडौँ युनिकन्सल्ट सेन्टरलाई जिम्मेवारी दिइएको छ । त्यसका लागि उक्त संस्थाबाट प्राध्यापकको नेतृत्वमा रहेको १६ जनाको प्राविधिक टोली खटिएको इन्जिनियर सुवेदीको बताउनुभयो ।

प्राध्यापकसहितको टोलीले आयोजनाको डिजाइन ‘रिभ्यू’सहितको सुपरिवेक्षण गरिरहेको सुवेदीले बताउनुभयो । दुई भवन र त्यसमा प्रयोग हुने उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीले संयुक्त रूपमा पाँच वर्षभित्र भवन निर्माण गर्नेगरी रु छ अर्ब १८ करोडमा सम्झौता भएको छ ।

सझौताअनुसार विसं २०८५ पुस २५ मा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । नयाँ भवन अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन उपचार, (इमर्जेन्सी) र इन्डोर सर्भिस कक्षसहित एक हजार २०० शय्या रहनेछन् । साथै, विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

अस्पतालको पहिलो दुई तलामा व्यवस्थित पार्किङसहित विशिष्टीकृत उपचार सेवा प्रदान गर्नेगरी १२ तलाको आधुनिक अस्पताल भवन र क्यान्सर उपचारका लागि अलग्गै भवनको निर्माण भइरहेको छ ।

विसं २०५० मा १०० शय्यामा विस्तार भएको अस्पतालमा विसं २०७२ देखि सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि हाल ५२४ शय्यामा बिरामीको उपचार हुने गरेको छ । अस्पतालको ओपिडीमा हाल दैनिक तीन हजारसम्म बिरामी आउने गरेका छन् । अस्पतालमा वार्षिक करिब १० लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।

अस्पतालबाट हाल बहिरङ्ग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । परीक्षणतर्फ प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपिजी, इकोकार्डीओग्रामलगायत सेवा उपलब्ध छन् ।

सिद्धार्थ राजमार्गसँगै जोडिएको कुल छ बिगाह १२ कट्ठा जमिनमा विसं २०१६ मा बनेका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन र क्यान्सर भवन निर्माण थालिएको हो । यसअघि निर्माण गरिएका डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बालरोग, जनरल वार्ड र शल्यक्रिया भवनहरू भने यथावत् राखिएका छन् । रासस