काठमाडौं । मुलुकका दुई ठूला राजनीतिक दलमा आज दुई अनौठा दृश्य देखिए । विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको बिद्रोही समूहले अलग्गै भेला मात्र आयोजना गरेन, आगामी १५ औँ महाधिवेशनको तालिका एकलौटी रुपमा सार्वजनिक गर्यो । उता विघटित संसदको तेस्रो ठूलो दल माओवादी केन्द्र भने औपचारिक रुपमै फुटेको छ ।
हुनत कांग्रेसमा गुटको जन्म अहिले भएको होइन तर विशेष महाधिवेशन गर्नुपर्छ भन्ने गुटले आफूलाई विशेष भन्न रुचाउँछ जसको नेतृत्व महामन्त्री गगन थापाले गरेका छन् ।
महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा जेन जी आन्दोलनमा कुटपिटमा घाइते भइ अस्पतालमा उपचाररत रहेकै बेला यता उनलाई हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गरेका थिए । सोही समूहले अहिले पनि पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।
तर कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वको संस्थापन पक्ष भने वैशाखमै नियमित महाधिवेशन गर्ने, अहिले विशेष महाधिवेशन नगर्ने अडानमा छ । तर त्यसलाई नमानेर गगन समूहले आजै विशेष भेलाको आयोजना मात्र गरेन महाधिवेशन पुसमै गर्नुपर्ने कार्यतालिका नै सार्वजनिक गर्यो ।
त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा नियमित महाधिवेशन नै गर्नुपर्ने अर्काे तालिका सार्वजनिक गरे । यता केन्द्रीय समिति जारी छ, उता गुटहरुले आगामी महाधिवेशनका लागि आआफ्ना कार्यतालिकाहरु सार्वजनिक गरिरहेका छन् ।
संस्थापन पक्ष भन्छ, आसन्न फागुन २१ को चुनावपछि महाधिवेशन गरौँ, तर इतर पक्ष अर्थात् शेखर कोइरालाको समूह भन्छ त्यसअगावै गरौँ । त्यतिमात्र नभएर गगन समूह भन्छ त्यो पनि होइन विशेष महाधिवेशन नै गरौँ । पहिला पार्टी सभापति शेरबहादुर देउवालाई कुनै पनि नविन निर्णयको बाधक देख्ने महामन्त्रीद्धयले अहिले उनले पार्टी नेतृत्व छोडिसक्दा पनि निकास निकाल्न सकिरहेका छैनन् ।
यसलाई धेरैले कांग्रेस पार्टी फुटको नजिक पुगेको पनि भन्न थालेका छन् । हुन पनि संकेत त्यस्तै देखिँदैछ । आजैको केन्द्रीय समिति बैठकमा पार्टीका नेता कृष्ण सिटौलाले महामन्त्री गगन थापामाथि गरेको आक्रमणले पनि त्यस्तै संकेत गर्दछ । सिटौलाले थापालाई पार्टीकै नेता र पार्टीको बदनाम गर्नका लागि फेसबुकको सचिवालय खुलेको बताएका थिए । त्यसको थापाले प्रतिवाद गरेका थिए ।
माओवादी केन्द्र र नेकपा एस फुटको संघार
यता अर्काे ठूलो पार्टी माओवादी केन्द्र त फुटको संघारमा पुगेको मात्र नभएर औपचारिक रुपमै फुटेको छ । माधव नेपाल नेतृत्वको नेकपा एससँग पार्टी एकता गर्ने निर्णय गरेसँगै सो पार्टीबाट उपमहासचिव जनार्दन शर्मा र अर्का नेता राम कार्कीले विद्रोह गरेका छन् ।
उनीहरुले सो पार्टी एकीकरणमा सामेल नहुने स्पष्ट गर्दै प्रगतिशील अभियान नेपाल नामको अभियानमा संलग्न भएको घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीको एकताको बैठक बसिरहेका बेला यता जनार्दन शर्माले पत्रकार सम्मेलनबाट सो पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
नेकपा एसको हालत पनि त्यस्तै छ । माधव नेपालको नेतृत्वमा केही नेता त आए तर अरु केही भने नेकपा एमालेमै फर्कने भनेर बसिरहेका छन् । अनि त्यसमा पनि नअटेकाहरुले अलग्गै पार्टी खोल्ने घोषणा पनि गरिरहेका छन् ।
सो पार्टीका झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीहरु को कता जाने भन्ने स्पष्ट भइसकेको त छैन तर पनि माओवादीमा बिलय हुनचाहिँ नजाने अडानमा छन् । नेकपा एसको यो पहिरोले अरु पनि धेरै पार्टीमा यस्तै फुटको संकेत गरिरहेको छ ।
राप्रपा भित्र पनि पहिरो
आजको यस्तै दृश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पनि देखिएको थियो । सो पार्टीका महामन्त्री धवल शम्शेर राणाले आफू पक्षीय भेला बोलाएका थिए । महामन्त्री राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएर पार्टी नेतृत्वका कारण आफूहरु सँगसँगै अघि बढ्न नसक्ने आशय व्यक्त गरेका थिए ।
महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताउँदै आएका छन् तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन गर्न नै समय मंसिर मसान्तसम्मको दिएका छन् । अध्यक्ष लिङ्देनले अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आएका छन् । तर राणाले भने यसलाई जालझेल भन्दै पार्टी अध्यक्षको विरोध गर्दै आएका छन् ।
जेनजी आन्दोलनपछि मुलुकका ठूला भनिएका राजनीतिक दलहरुमा फुटको प्रतिस्पर्धा नै चल्ने देखिएको छ । आन्दोलनका कारण देशको राजनीतिक प्रणाली र संविधानमाथि चुनाैती आएकै थियो, यसले राजनीतिक दलहरुको आन्तरिक राजनीतिमा पनि पहिरो ल्याउने संकेत देखिएको छ ।










