रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन–जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गर्नुभएको छ ।
मंगलवार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गर्नुभयो । मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उहाँको भनाइ छ । उहाँले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘किशोर किशोरीहरुले भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भनेर सामाजिक सञ्जालमा उत्रिएका थिए । जसरी उनीहरु सोसियल मिडियामाथिको नियन्त्रण खोल्नुपर्ने माग राखेर उनीहरु सडकमा उत्रिएका थिए उनीहरुको उक्त आन्दोलनको दुरुपयोग गरेर सरकारका विरुद्धमा संगठित रुपमा प्रहार गर्ने, एकसाथ देशव्यापी रुपमा आक्रमण गर्ने र सरकार अपदस्थ गर्ने खालको योजना रहेछ भन्ने कुरा पुष्टि भयो ।
माइतीघर मण्डलादेखि बानेश्वरका लागि प्रस्थान गरेको जुलुसका सन्दर्भमा जेनजी भाईहरुले हाम्रो आन्दोलन सफल भयो हामी फर्किउँ भनेका थिए । तर त्यहाँ अर्कै स्थिति सिर्जना गरेर कल्पना गरिएकोभन्दा बाहिरका घटना हुने अवस्था आयो । त्यसलाई सरकारले गम्भीर रुपमा लिएको थियो । तर योजनावद्ध ढंगले देशभर एकसाथ प्रहार गर्ने काम भएको छ । यो अन्दोलन व्यवस्था र संविधानका विरुद्धको षड्यन्त्र थियो ।’
उहाँले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप पनि लगाउनु भयो । सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ ।










