काठमाडौँ। नेपालका लागि तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खोलेको आवेदनको वरिष्ठ विधामा सन् २००६ जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
त्यसैगरी, कनिष्ठ विधामा सन् २०१० जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन् । इच्छुक विद्यार्थीले आगामी पुस २५ गतेसम्म अनलाइन फारम भरी आफ्नो नाम दर्ता गराउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमको पहिलो चरणको परीक्षा आगामी माघ ३ गते दिउँसो १२ देखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, वीरेन्द्रनगर, धनगढीमा एकैपटक सञ्चालन गरिनेछ । तीन चरणमा सञ्चालन गरिने उक्त कार्यक्रमको अन्तिम चरणमार्फत प्रत्येक विधामा बढीमा १० विद्यार्थीलाई सन् २०२६ मा आयोजना हुने अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्रदान गरिने सोसाइटीले जनाएको छ ।
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड-नेपाल एक शैक्षिक प्रतियोगिता हो । जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका नेपाली विद्यार्थीले सहभागिताका लागि आवेदन दर्ता गर्न सक्नेछन् ।










