२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित



हिमपात
अ+ अ-

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भन्नुभयो, “दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन ।”

हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए ।

हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भन्नुभयो, “मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरिएको छ ।”

जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरुका बारेमा जानकारी लिने कार्य भइरहेको छ ।

दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । लगातारको हिमपात र वर्षाले चिसो बढेको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भन्नुभयो, “आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ ।”

लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ । “हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,” खुम्जुङकी शिक्षक कोपिला घतानीले बताउनुभयो ।