६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री

माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री
अ+ अ-

चितवन। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मुलुकका प्राकृतिक जलस्रोतको समुचित सदुपयोग गर्दै मत्स्यपालन (माछापालन)लाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण र आत्मनिर्भर आधारका रूपमा विकास गर्ने बताउनुभएको छ ।

नेपाल मत्स्य विकास सङ्घको आज चितवनको खैरहनीमा भएको प्रथम साधारणसभामा मन्त्री चौधरीले कृषि र वन क्षेत्रको विकासबिना मुलुकको समृद्धि सम्भव नरहेकाले किसानको मुहारमा खुसी ल्याउनेगरी नीतिगत र प्रशासनिक सुधार भइरहेको बताउनुभयो । उहाँले हप्ताको तीन दिन (शुक्रबार, शनिबार र आइतबार) लाई ‘फिल्ड डे’का रूपमा छुट्याएर प्रत्यक्ष रूपमा किसानको माझ पुग्ने गरेको जानकारी दिँदै प्राविधिक ज्ञानको कमी, समयमा सूचना नपुग्नु तथा सरकारी अनुदान र सुविधाका बारेमा जानकारी नहुँदा किसान समस्यामा परेको उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “नेपाल जलस्रोतमा धनी मुलुक हो । हामीले अरू क्षेत्रमा जस्तै माछा उत्पादनमा पनि छिट्टै पूर्ण रूपमा आत्मनिर्भर बन्नुपर्छ ।” उहाँले उन्नत जातका भुरा, गुणस्तरीय दाना, आधुनिक प्रविधि, नयाँ प्रजातिको अनुसन्धान, डिजिटल प्लेटफर्म र गुणस्तर प्रमाणीकरणमा सरकारले जोड दिएको जानकारी दिनुभयो ।

विदेशबाट गैरकानुनी र चोरी तस्करीका माध्यमबाट हुने माछाको आयात रोक्न गृह मन्त्रालयसहित सरोकार भएका निकायसँग निरन्तर समन्वय तथा सहकार्य भइरहेको कृषिमन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले अवैध आयातलाई कडाइका साथ नियन्त्रण गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा कतिपय क्षेत्रलाई एउटै छातामुनि राखेर काम गरिए पनि अब प्रविधिसँगै विशिष्टीकरणको युग आएकाले माछा, पशुपन्छी र वन्यजन्तु क्षेत्रलाई छुट्टाछुट्टै विशिष्टीकृत बनाएर नीतिगत सुदृढीकरण गर्न लागिएको मन्त्री चौधरीले जानकारी दिनुभयो । किसानलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) मा छुट तथा उत्पादनमा आधारित प्रत्यक्ष अनुदानका विषयमा मन्त्रालयले पहल गरिसकेको उल्लेख गर्दै शीघ्र नीतिगत रूपमा कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो । निजी र सरकारी क्षेत्रबीच बलियो सहकार्य र साझा दायित्व निर्माण नभएसम्म कृषिको दिगो विकास सम्भव नरहेको उहाँको धारणा छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले भारतबाट भित्रिने अखाद्य माछाको आयात रोकेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । स्वदेशी किसानका समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “हामीले बाहिरबाट ‘फर्मालिन’ र ‘नाइट्रेट’ हालेर ल्याइएका अखाद्य माछा खाने कि हाम्रा किसानले स्वदेशमै उत्पादन गरेका माछालाई बजार दिने भन्ने आजको मुख्य चुनौती हो ।”

अघिल्लो कार्यकालदेखि माछा किसानका समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गर्दै सांसद ढकालले किसानका मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउने अभियान अझै जारी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बङ्गलादेशले विगत चार दशकमा आफ्नो मत्स्य क्षेत्रमा उल्लेख्य प्रगति गर्दै माछा उत्पादन छ गुणाभन्दा बढीले बढाएको जानकारी दिनुभयो । उहाँले बङ्गलादेशले वार्षिक करिब ५१ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन गरिरहेको जानकारी दिँदै आन्तरिक मत्स्यपालन र जलकृषिको योगदान कुल उत्पादनको करिब ८८ प्रतिशत रहेको उल्लेख गर्नुभयो ।

राजदूत रहमानले बङ्गलादेशमा जस्तै नेपालमा पनि जलस्रोतको प्रचुर सम्भावना रहेकाले सरकारले सही नीति र प्रोत्साहनका साथ माछापालन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा धारणा राख्नुभयो । नेपालले पनि किसानलाई प्रविधि, अनुदान र बजारको उचित व्यवस्थापन गरे यो क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले नेपाल मत्स्य उत्पादनमा तीव्र प्रगति गर्दै आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताउनुभयो । उहाँले व्यवसायी र किसानहरूको प्रयासका कारण हाल मुलुकभित्रै वार्षिक करिब एक लाख ३१ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले हालै करिब रु दुई करोडबराबरको स्वदेशी माछा निर्यात सुरु भइसकेकाले नेपाल आयातमा मात्र सीमित नरहेको प्रस्ट पार्नुभयो ।

माछामा आत्मनिर्भर हुन क्वारेन्टाइन, बजार व्यवस्थापन र नीतिगत तथा प्राविधिक समस्या समाधानका लागि विभाग तथा  मन्त्रालय प्रतिबद्ध रहेको महानिर्देशक दाहालले बताउनुभयो । कालीमाटीसहित प्रमुख बजारमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिएपछि मात्रै अपुग भएमा वैधानिक आयातको व्यवस्था मिलाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी प्रमुख सरिता गौतमले जलजैविक विविधताको संरक्षण र प्रववर्द्धनबिना मुलुकमा दिगो रूपमा मत्स्यपालन सम्भव नरहेको बताउनुभयो । मत्स्य क्षेत्रको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सरकार एक्लैको प्रयासले यस क्षेत्रको अपेक्षित उन्नति सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख गौतमले सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा प्रदेश सरकारमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका भन्दै माछा उत्पादन क्षेत्रमा सङ्कलन केन्द्र र चिलिङ सुविधा स्थापना गर्नेलगायत पूर्वाधार विकासका काम तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय मत्स्य विकास नीतिको प्रमुख उद्देश्य जलजैविक विविधताको संरक्षण गर्नु रहेको बताउँदै सोही नीति अनुरूप हाल विभिन्न प्रवर्द्धन तथा संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका उहाँले उल्लेख गर्नुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन डा शङ्करराज बर्सेला र नेपाल मत्स्य समाजकी अध्यक्ष डा सुनिला राईले देशमा मत्स्य क्षेत्रको दिगो विकास तथा विस्तारका लागि सही ठाउँमा सही जनशक्तिको नीति पूर्ण रूपमा लागू गरिनुपर्नेमा जोड दिनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले २०७० सालदेखि सुरु गरेको मत्स्य विज्ञानमा स्नातक (बिएससी फिसरिज) कार्यक्रममार्फत हालसम्म आठवटा शैक्षिक समूहका १३० दक्ष जनशक्ति उत्पादन भई बजारमा आइसकेका डिन डा बर्सेलाले जानकारी दिनुभयो । क्वारेन्टाइन नाकामा अखाद्य तथा अस्वस्थकर माछाको आयात नियन्त्रण गर्न प्राविधिक रूपमा दक्ष मत्स्य विकास अधिकृत नियुक्त गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

कार्यक्रममा सङ्घमा आबद्ध देशभरका प्रतिनिधिको सहभागिता थियो । आज उद्घाटन भएको अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन समारोहमा सङ्घका सल्लाहकार डा माधवकुमार श्रेष्ठ, नेपाल मत्स्य व्यवसायी सङ्घका संस्थापक अध्यक्ष तुलसी गिरी, बेगनास मत्स्य अनुसन्धान केन्द्र कास्कीका प्रमुख डा इकबाल हुसेन, कैलालीका अग्रणी मत्स्यपालक किसान कृष्ण गिरी, राष्ट्रिय सिँचाइ तथा जल उपभोक्ता महासङ्घका अध्यक्ष शम्भुप्रसाद दुलाल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरी, नेपाल उद्योग वाणिज्य महासङ्घ चितवनका अध्यक्ष उमेशचन्द्र सापकोटा, नेपाल फिसरिज टेक्निसियन एसोसिएसनका अध्यक्ष सुभाषकुमार झालगायतले आआफ्नो धारणा राख्नुभएको थियो । रासस