२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुम्लुमा ५० वर्षदेखिको समस्या : हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन् ।

हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रूपमा गत भदौदेखि वितरण गर्न थालिएको हो । उनीहरूलाई गत भदौ ३ गते तत्कालीन भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा बितरणको सुरुआत गर्नुभएको थियो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए ।

प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका–७ र ८ का चार सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का एक सय ८५ र वडा नं ८ मा दुई सय ४६ गरी चार सय ३१ जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्यसयता एक सय लालपुर्जा तयार भई वितरण भइरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताउनुभयो । उहाँका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा बितरण भइरहेको हो । आवश्यकतानुसार तीनदेखि छ जना कर्मचारीले ‘फिल्ड’मा काम गरिरहेको भुसालको भनाइ छ ।

समस्या समाधनका लागि जिल्लस्थित नापी कार्यालयले २०७१ साल जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकका तत्कालीन सांसद एवं मन्त्री गोकुल बाँस्कोटाले २०७६ साल मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि भने स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् ।

कार्यालयका अनुसार वडा नं ७ मा तीन सय र ८ मा छ सय लालपुर्जा बनाउनुपर्ने देखिएको छ । घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुन: उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै श्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरू नापी कार्यालयमा ल्याई जग्गा प्रशासनको नयाँ काम सुरु हुने जनाएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुसालले बताउनुभयो । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ ।

उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौँसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समितिसमेत गठन गरिएको थियो भने कयौँपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्कएको थिएन । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ । रासस