४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरा बिक्री नहुँदा किसान मर्कामा



अ+ अ-

घोराही । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुग्नुभएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित हुनुहुन्छ । सुरुआतमा दुई बिघाबाट केराखेती सुरु गर्नुभएका उहाँले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताउनुभयो । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उहाँले बताउनुभयो ।

बजारमा दर्जनलाई रु १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताउनुभयो । “यो साल केरा बिक्री नहुँदा कारोबार घरेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ”, उहाँले भन्नुभयोे । थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उहाँको भनाइ छ । उहाँले गएका वर्षहरुमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल भने तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार रहेको बताउनुभयो ।

राप्ती केरा प्रवद्र्धन कृषक समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीले अघिल्ला वर्षहरुमा रु सवा करोडसम्मको कारोबार गर्ने र जसबाट रु ३० लाखसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको उहाँ बताउनुहुन्छ । राप्ती केरा प्रवद्र्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध हुनुहुन्छ । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा रु १० लाख कम आम्दानी हुने उहाँको आकलन रहेको छ ।

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताउनुहुन्छ ।

उहाँले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आउनुभएको छ । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उहाँले बताउनुभयो । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उहाँले सुनाउनुभयो । भारतीय बजारबाट दाङका बजारमा दिनहँु सस्तो मूल्यमा केरा भित्रिएपछि यहाँ उत्पादन भएको केराले बजार पाउन नसकेको उहाँको भनाइ छ ।

उहाँ जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताउनुभयो । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उहाँले बताउनुभयो । केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “व्यापारीले दर्जनको रु २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ?”

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उहाँको भनाइ छ । मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर रु २५० देखि रु ५०० एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको रहेको छ ।