३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
अ+ अ-

काठमाडौँ, २१ साउन (रासस): नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच र आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ ।

संविधानले स्वास्थ्यलाई राज्यको एक अभिन्न दायित्व र अत्यावश्यक मानवीय सेवाका रूपमा स्वीकार गरेको छ तर पछिल्लो समय उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्य सेवा र चिकित्सकहरूलाई पनि व्यापारिक वस्तु वा सामान बिक्री गर्ने विक्रेता सरह राखी उपभोक्ता अदालतको दायरामा ल्याइएको छ । यसले गर्दा नेपालको सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर र नकारात्मक असरहरू देखिन थालेका छन् ।

उपभोक्ता अदालतको बढ्दो हस्तक्षेप

हालै उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र एक स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई रु ३९ लाख क्षतिपूर्ति तिराउने फैसला गरेको छ । फैसलामा अस्पताललाई ३० लाख र डाक्टरलाई रु नौ लाख जरिवाना तोकिएको छ । प्रसूतिको क्रममा ‘प्रि–एक्लेम्पसिया’ (उच्च रक्तचाप) को जटिलतामा औषधि व्यवस्थापन तथा मेडिकल प्रोटोकल पालना नभएको ठहर गर्दै अदालतले उक्त आदेश दिएको हो ।

यसअघि पनि उपभोक्ता अदालतले हिमाल हस्पिटल र चिकित्सकलाई रु एक करोड ४५ लाख र ओम हस्पिटललाई रु ५६ लाखभन्दा बढी क्षतिपूर्ति तिराउने फैसला गरिसकेको छ । एक ९८ वर्षीय बिरामीको प्राथमिक उपचार र डिस्चार्जका क्रममा लापर्वाही भएको भन्दै अदालतले ओम हस्पिटललाई ८० प्रतिशत (रु ५० लाख ७० हजार) र उपचारमा संलग्न दुई डाक्टरलाई १०/१० प्रतिशत (प्रतिडाक्टर रु तीन लाख पाँच हजारका दरले) क्षतिपूर्ति तिराउने निर्णय ग¥यो ।

कुनै पनि बिरामीको ज्यान जानु अत्यन्तै दुःखद् विषय हो र पीडितले न्याय पाउनैपर्छ तर मेडिकल विज्ञानको जटिलता, आकस्मिक अवस्था र बिरामीको शारीरिक प्रतिक्रियालाई गैर–मेडिकल प्रशासनिक न्यायाधीशहरूले व्यापारिक ऐनको कसीबाट मूल्याङ्कन गर्दा समग्र चिकित्सा क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।

स्वास्थ्य सेवा व्यापार होइन

व्यापारिक क्षेत्रमा ‘ग्राहक’ र ‘विक्रेता’ बीचको सम्बन्ध नाफा–घाटा र वस्तुको खरीद–बिक्रीमा आधारित हुन्छ । यदि तपाईंले बजारबाट कुनै सामान वा टिभी किन्नुभयो र त्यो बिग्रियो भने त्यसलाई फेर्न वा क्षतिपूर्ति माग्न सकिन्छ, किनकि त्यो निर्जीव वस्तु हो । तर चिकित्सक र बिरामीको सम्बन्ध नाफाको व्यापार होइन । यो आस्था, मानवीय संवेदनशीलता र नैतिक उत्तरदायित्वमा टिकेको हुन्छ । कुनै पनि चिकित्सकले बिरामीलाई जानीजानी हानि पु¥याउने नियत राख्दैन ।

मानव शरीर कुनै कलकारखानामा बनेको मेसिन होइन, जहाँ एउटै नियम वा औषधि सबैलाई समान रूपमा लागू होस् । प्रत्येक व्यक्तिको शारीरिक बनावट, रोग प्रतिरोधात्मक क्षमता र तत्कालीन अवस्था फरक–फरक हुन्छ । त्यसैले स्वास्थ्योपचारलाई अन्य व्यापारिक सेवासँग तुलना गरेर ‘उपभोक्ता ऐन’ को घेरामा राख्नु कानुनी र व्यावहारिक दुवै दृष्टिले गलत छ ।

उपभोक्ता ऐनको त्रास

जब स्वास्थ्य सेवालाई उपभोक्ता ऐनमा राखियो र डाक्टरहरू माथि करोडौँ रुपैयाँ क्षतिपूर्तिको मुद्दा पर्न थाल्यो, त्यसको प्रत्यक्ष दुष्परिणाम बिरामीहरूले नै भोग्नुपरिरहेको छ । डाक्टरहरूमा कानुनी झमेला र करोडौँ क्षतिपूर्तिको त्रास सिर्जना भएकाले नेपालमा ‘डिफेन्सिभ मेडिसिन’ को विभिन्न खालका विकृतिहरु भित्रिएका छन् । जटिल वा गम्भीर अवस्थाका बिरामी अस्पताल आउँदा कानूनी झमेला र उपभोक्ता अदालतको डरले डाक्टरहरूले जोखिम मोलेर उपचार गर्नुको सट्टा अन्यत्र रिफर’ गर्ने वा हात हाल्न नमान्ने प्रवृत्ति बढेको छ । यसले गर्दा आपत्कालीन अवस्थाका धेरै बिरामीहरूले समयमा उपचार नपाई अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यति मात्र होइन, अनावश्यक परीक्षण र महँगो उपचारको अवस्था पनि सिर्जना भएको छ । कानुनी बचाउका लागि डाक्टरहरूले सानो शङ्का लाग्दा पनि बिरामीलाई धेरै किसिमका महँगा सिटी स्क्यान, एमआरआई र अनावश्यक प्रयोगशाला परीक्षणहरू गराउन बाध्य हुनु परेको छ । यसको प्रत्यक्ष आर्थिक भार अन्ततः गरिब तथा विपन्न बिरामीकै खल्तीमा परेको छ ।

अन्तरराष्ट्रिय अनुभवबाट सिक्नुपर्ने पाठ

दक्षिण एसियाली तथा पश्चिमी देशहरूको अनुभवले पनि स्वास्थ्यलाई उपभोक्ता ऐनमा राख्दा उल्टै सर्वसाधारणलाई नोक्सान पुगेको देखाउँछ । भारतमा सन् १९९५ पछि स्वास्थ्य सेवालाई उपभोक्ता ऐनभित्र समावेश गरियो । त्यसपछि अदालतमा लाखौँ मुद्दाहरू थुप्रिए, डाक्टरहरूले बचाउत्मक उपचार गर्न थाले र भारतमा उपचार खर्च तीव्र रूपमा महँगियो ।

अमेरिका र पश्चिमी देशहरूमा पनि भएका अभ्यासहरुबाट पनि धेरै कुराहरु सिक्नुपर्ने हुन्छ । अमेरिकामा ‘मेडिकल मालप्राक्टिस’ सम्बन्धी कडा कानुन र अर्बौं डलर क्षतिपूर्ति तोक्ने प्रणाली छ । यसले गर्दा डाक्टरहरूले तिर्नुपर्ने बीमा को प्रिमियम अत्यधिक महँगो छ, जसले गर्दा अमेरिकामा उपचार विश्वकै सबैभन्दा महँगो बनेको छ । नेपालजस्तो विकासोन्मुख देशले यस्तो महँगो प्रणाली धान्न सक्दैन ।

वास्तविक समाधान के हो त ?

स्वास्थ्य सेवालाई उपभोक्ता ऐनबाट हटाउनुको अर्थ डाक्टरहरूलाई मनपरी गर्न दिनु वा उन्मुक्ति दिनु पटक्कै होइन । यदि कुनै डाक्टरले गम्भीर लापर्वाही गर्छ भने उसलाई कारबाही हुनैपर्छ र पीडित बिरामीले न्याय पाउनैपर्छ तर त्यसका लागि व्यापारिक अदालत होइन, विशेषज्ञ निकाय हुनुपर्छ । यसका लागि नेपाल मेडिकल काउन्सिलभित्र ‘मेडिको–लिगल ट्रिब्युनल’ गठन गर्न सकिन्छ । काउन्सिलभित्र पूर्व न्यायाधीशको अध्यक्षतामा विषयगत विशेषज्ञ डाक्टरहरू, उपभोक्ता अधिकारकर्मी र बायोएथिस्टहरू रहेको छुट्टै न्यायपीठ बनाइनुपर्छ । यसले उपचारमा ‘प्रक्रियागत त्रुटि’ वा ‘बदनियत’ थियो कि थिएन भन्ने वैज्ञानिक छानबिन गर्छ ।

त्यस्तै डाक्टर र अस्पतालहरूका लागि अनिवार्य पेसागत बिमाको व्यवस्था गरिनुपर्छ । यदि ट्रिब्युनलले उपचारमा त्रुटि भएको ठहर गरेमा क्षतिपूर्तिको रकम डाक्टरको व्यक्तिगत सम्पत्ति वा खल्तीबाट नभई बीमा कम्पनीको कोष बाट पीडित बिरामीलाई तत्काल उपलब्ध गराइन्छ । स्वास्थ्य सेवा कुनै व्यापारिक कारोबार होइन; यो नागरिकको जीवनसँग जोडिएको संवेदनशीलता हो । यदि हामीले स्वास्थ्य सेवालाई व्यापार र बिरामीलाई केवल ‘ग्राहक’ का रूपमा हेरिरह्यौँ भने डाक्टरहरू बचाउत्मक मोडमा जानेछन्, उपचार प्रक्रिया झन् महँगो र झन्झटिल हुनेछ, र जटिल बिरामीहरूले समयमा उपचार नपाई अकालमै ज्यान गुमाउनु पर्नेछ ।

त्यसैले आम नागरिकको हित, डाक्टरहरूको सुरक्षा र देशको स्वास्थ्य प्रणालीलाई जोगाउनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ (ध) संशोधन गरी स्वास्थ्य सेवालाई यो ऐनबाट पूर्ण रूपमा अलग गरिनुपर्छ । स्वास्थ्य क्षेत्रलाई बचाउनु भनेको अन्ततः आम नागरिककै जीवन र स्वास्थ्यको रक्षा गर्नु हो ।

(लेखक नेपाल मेडिकल एसोसिएसनका महासचिव हुनुहुन्छ)