काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दै छ ।
ओमानमा जारी प्रतियोगितामा समूह विजेता हुँदै सुपर–६ मा पुगेको नेपालले आज अपराह्न सवा ४ बजे आफ्नो यूएईसँग खेल्न लागेको हो ।
नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन् ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ ।
समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो । नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ । यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन ।
अब सुपर–६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर–६ मा गणना हुनेछ ।
जसमा युएई, नेपाल र ओमानले सुपर–६ मा २–२ अंक जोडिसकेका छन् ।
दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आईसीसी टी–२० कपमा छनोट हुनेछ ।










