काठमाडौँ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर पहिले ब्याटिङ थालेको जापानले २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन जोड्यो ।
उसका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा ६० रनको योगदान दिए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै इसम रेहमानले ३१, बेन्जामिन इल्टो–डेभिसले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र गुलशन झाले २–२ तथा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।
प्रतियोगितामा विभिन्न नौ टोली सहभागी छन् । सहभागी टोलीलाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा जानेछन् । नेपाल भने समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान छन् ।
नेपाल र जापान दुवै टोलीले आआफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई पराजित गरेका हुन् । पहिलो खेलको जितसँगै नेपाल र जापान सुपर सिक्स पुगिसकेका छन् । त्यस्तै कुवेत भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
सुपर सिक्समा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । सुपर सिक्समा बलियो दाबेदारी पेस गर्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।










