३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जित्यो एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । भारतले पाकिस्तानलाई हराएर एशिया कपको उपाधि आफ्नो नाममा पारेको छ । भारतीय टिमले २०२३ मा एकदिवसीय प्रारूपको उपाधि जितेपछि २०२५ मा टी–२० प्रारूपको एशिया कप पनि जित्न सफल भएको हो । भारतका लागि तिलक वर्माले शानदार प्रदर्शन गर्दै अन्तिमसम्म टिकेर टिमलाई ऐतिहासिक जित दिलाए ।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो । कुलदीप यादवको घातक बलिङको सहायताले भारतले पाकिस्तानलाई १९.१ ओभरमै १४६ रनमा समेट्यो । सो लक्ष्य पछ्याउने क्रममा तिलकले ५३ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६९ रन बनाए र भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १५० रन पुरा गर्दै जित हासिल गर्यो।

रिंकूले हाने जितको चौका

भारतका लागि जित दिलाउने चौका रिंकू सिंहले हाने । रिंकूको चौका लाग्नेबित्तिकै भारतीय ड्रेसिङ रुम र मैदानमा रहेका दर्शक खुशीले झुमे । मुख्य प्रशिक्षक गौतम गम्भीरसमेत आफ्नो जोश नियन्त्रण गर्न सकेनन् । संघर्षपूर्ण पारी खेलेका तिलकले खुशीमा ब्याट हल्लाए भने पाकिस्तानका खेलाडीहरू फेरि निराश मुद्रामा मैदानमा उभिएका देखिए । यो पाकिस्तानविरुद्ध भारतको लगातार तेस्रो जित हो र सूर्यकुमार यादवको कप्तानीमा भारतले पाकिस्तानविरुद्ध जितको ह्याट्रिक पुरा गर्यो ।

भारतको कमजोर सुरुवात

लक्ष्य पछ्याउने क्रममा भारतले पावरप्लेभित्रै ३ विकेट गुमायो । अभिषेक शर्मा, शुभमन गिल र कप्तान सूर्यकुमार यादव जम्मा २० रनमै आउट भए । अभिषेकले यसअघि उत्कृष्ट प्रदर्शन गरेका थिए तर यस खेलमा ५ रनमा आउट भए । सूर्यकुमार फेरि असफल हुँदै १ रनमा आउट भए । त्यसपछि फहीम अशरफले शुभमन गिललाई आउट गर्दै भारतलाई थप दबाबमा पारे ।

तिलक र सामसनले सम्हाले पारी

शुरुवाती धक्का पाएको भारतलाई तिलक र सञ्जू सामसनले सम्हाले । दुवैले धैर्यपूर्वक खेल्दै चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । तर सामसन ठूलो शट खेल्ने प्रयासमा २४ रनमा आउट भए । उनले ठूलो योगदान नदिए पनि तिलकलाई साथ दिएको कुरा महत्वपूर्ण रह्यो ।

दुबेको आक्रामक खेल

भारत ७७ रनमा ४ विकेट गुमाइसकेको बेला शिवम दुबे मैदानमा आए । सुरुमा केही जोखिमपूर्ण शट खेले पनि पछि दुबेले आक्रामक शैलीमा खेल्दै दबाब कम गरे । तिलक र दुबेमाझ साझेदारी चलिरहेका बेला तिलकले अर्धशतक पुरा गरे । तर जब भारतलाई ७ बलमा १० रन चाहिएको थियो, दुबे २२ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाएर शाहीन अफरीदीद्वारा बाउन्ड्रीमा क्याच भए ।

अन्तिम ओभरको रोमाञ्च

भारतलाई अन्तिम ६ बलमा १० रन आवश्यक थियो । तिलकसँगै रिंकू सिंह क्रीजमा थिए । पाकिस्तानका लागि हारिस रऊफले अन्तिम ओभर बलिङ गरे । तिलकले पहिलो बलमा २ रन लिए र दोस्रो बलमा छक्का हाने । तेस्रो बलमा १ रन लिएर स्कोर बराबरी गरे । चौथो बलमा रिंकूले चौका प्रहार गर्दै भारतलाई जिताए । पाकिस्तानका लागि फहीम अशरफले ३ विकेट लिए भने शाहीन अफरीदी र अबरार अहमदले १–१ विकेट झारे ।

स्पिनरहरूको दम

पाकिस्तानले फाइनलमा भारतलाई १४७ रनको लक्ष्य दिएको थियो । भारतले पहिले बलिङ गर्दै पाकिस्तानलाई २० ओभर पनि पुरा गर्न नदिई १४६ रनमै समेट्यो । पाकिस्तानका सलामी ब्याट्सम्यान साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए । उनले फखर जमाँसँगै राम्रो सुरुवात दिलाए र पावरप्लेमा भारतलाई सफलता दिलाएनन् । तर फरहानलाई वरुण चक्रवर्तीले आउट गरेपछि पाकिस्तानको ब्याटिङ धराशायी भयो ।

फखर जमाँले ४६ रन र सैम अयूबले १४ रन बनाए । शीर्ष तीन बाहेक अरू कुनै पनि पाकिस्तानी ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् । मोहम्मद हारिस, शाहीन अफरीदी र फहीम अशरफ त खाता नै खोल्न सकेनन् । कप्तान सलमान आगा ८, हुसैन तलत १, मोहम्मद नवाज ६ र हारिस रऊफ ६ रनमा आउट भए । अबरार अहमद १ रनमा अविजित रहे । भारतका लागि कुलदीप यादवले ४ विकेट लिए भने जसप्रीत बुम्राह, वरुण चक्रवर्ती र अक्षर पटेलले २–२ विकेट लिए ।