काठमाडौँ । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले जेनरेसन–जेड (जेनजी)लाई समेत समेट्ने उद्देश्यले अध्यादेशमार्फत मतदाता नामावली संकलन सुरु गरेको छ ।
आयोगका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
नामावली संकलन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, सार्वजनिक बिदा बाहेक हुने व्यवस्था गरिएको छ ।
यस क्रममा कानुनअनुसार मतदाता बन्न योग्य भएका नागरिकले नयाँ दर्ताका साथै विवाह वा बसाइँ सराइका कारण ठाउँसारी गर्न सक्नेछन् । साथै, नाम वा विवरणमा त्रुटि परेमा सच्याउन सकिने व्यवस्था पनि आयोगले गरेको छ ।
प्रावधानअनुसार निर्वाचन मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्वतः बन्द हुने भए पनि नयाँ पुस्ता मताधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सरकारले विशेष अध्यादेशमार्फत प्रक्रिया खुला गरेको आयोगले जनाएको छ ।











