११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य

नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य
अ अ+ अ-

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो ।

मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारीहरू स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए ।

आज सार्वजनिक बिदा भएकाले कर्मचारीको भीडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा बसेका थिए । मन्त्री पुनभन्दा केही मिनेट अगाडि शपथ ग्रहण कार्यक्रमबाट केशरमहल आएका मन्त्रालयका सचिवहरूका हातमा अरु कर्मचारीले मन्त्रीलाई स्वागतका लागि पुष्पगुच्छा दिए ।

एकछिनपछि मुस्कानसहित एक हात हल्लाउँदै मन्त्री पुन मन्त्रालय छिर्नुभयो । उहाँले रातो रङ्गको गलबन्दी जस्तो खादा लगाएकाले रुद्राक्षको माला लगाइदिन कर्मचारीलाई केही सजिलो भएको देखिन्थ्यो ।

केशरमहलस्थित मन्त्रालयमा पदबहालीसँगै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठन कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गर्नुभयो । समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निस्वार्थ भएर योगदान दिनुपर्ने उहाँको जोड थियो ।

यसका लागि बजेट पनि आवश्यक हुने भन्दै उहाँले चासो राख्नुभएको थियो । तत्पश्चात् मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पुनले युवा पुस्ताको चाहनाबमोजिम नयाँ एवं सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आगह गर्नुभयो ।

उहाँले आफू एक्लैले गरेर केही नहुने भएकाले शुद्ध मनले नयाँ सोचसहित सुझाव दिन सबैलाई आगह गर्नुभयो । “म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न पछि नहट्ने मान्छे हुँ ।

मन्त्री हुँदैमा ठुलो मान्छे भएको छैन । दैनिक काममा मेरो खास रुचि हुँदैन”, मन्त्री पुनले भन्नुभयो, “जेनजी समूहको आन्दोलनको मर्मअनुसार मुलुकमा भ्र्रष्टाचार र बदमासी हुनु भएन । म जेनजीहरूको दाइ हुँ । शिक्षा मन्त्रालयमा पनि कुनै बदमासी छ भने रोकिनुपर्छ । ढिलासुस्ती हुनु भएन ।’’

उहाँले आफूले २०८० वैशाख १८ मा गरेको धर्नापछि विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न ६० दिनभित्र विधेयकको मस्यौदा तर्जुमा गर्न तत्कालीन सरकारसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको स्मरण गर्नुभयो । सीमित स्वार्थका लागि देशको स्वार्थलाई ओझेल नपार्न आग्रह गर्दै मन्त्री पुनले प्रतिनिधिसभा नरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक ल्याउन नसकिने स्थितिमा कसरी काम गर्ने भन्ने विकल्प ल्याउन तथा कार्यविधिबाट काम गर्न सकिने अवस्थाबारे जानकारी दिन आग्रह गर्नुभयो ।

विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय स्थापना भएको ३० वर्ष भए पनि खास केही काम गर्न नसकिएको टिप्पणी गर्दै मन्त्री पुनले यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट खोज्नुपर्नेमा जोड दिनुभयो ।

दृष्य बदलियो…

वैज्ञानिक खोज, अनुसन्धान, पुस्तक लेखन र आफ्नो पुस्तक बेच्न आफैँ देशका विभिन्न ठाउँमा घुम्दै आउनुभएका मन्त्री पुन आफू मन्त्री हुनुलाई एक प्रकारले दृष्य परिवर्तनको संज्ञा दिनुभयो ।

“सिनेमामा झैँ मेरो जीवनमा पनि दृष्य बदलिएको छ । डाँडाकाँडामा हुने मान्छे एकैपटक मन्त्रालयमा आएको छु”, उहाँले भन्नुभयो, “मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन । म जहाँ काम गर्छु, त्यही बस्ने हो । यसकारण मलाई मन्त्रालयमा एउटा सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिन्छु ।’’

मन्त्री पुनले आफूलाई मन्त्रालय बाहिर जाँदा व्यक्तिगत सुरक्षा कर्मचारी नचाहिने स्पष्ट गर्दै सरकारी बाहेकका काममा जाँदा सरकारी गाडी प्रयोग नगर्ने घोषणा पनि गर्नुभयो ।
उहाँलाई सचिवहरू चूडामणि पौडेल र विश्वबाबु पुडासैनी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतले स्वागत गर्नुभएको थियो । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी र तोडफोड भएकाले हाल केशरमहलबाट मन्त्रालयको काम सञ्चालन भएको हो ।

रोमन म्यागसेसे पुरस्कार विजेता मन्त्री पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोगमा योगदान गरेकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ ।

उहाँको कार्यलाई अशोका फाउन्डेसन, रोमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ । नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर पुनले विदेशमा अध्ययन र अध्यापनपछि आफू जन्मिएको म्याग्दीको नाङ्गी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेटको सफल सञ्चालन गर्नुभएको थियो ।

पछिल्लो समय उहाँले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका साथै वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि अभियान सञ्चालन गर्दै आउनुभएको थियो । रासस