१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलियो आधारले नै सफलता मिल्छ’



अ+ अ-

रामायणको सुन्दरकाण्डको एउटा रमाइलो प्रसङ्ग छ । यस प्रसङ्गमा हनुमानजीले देखाउनुभएको छ — कुनै पनि ठूलो लक्ष्य हासिल गर्न केवल उत्साह मात्र होइन, बलियो आधार र योजनाबद्ध तयारी पनि अत्यावश्यक हुन्छ ।

देवी सीताको खोजीमा निस्किएको वानर सेनाले जब समुद्र किनार पुग्यो र थाहा पायो कि माता सीता लङ्कामा हुनुहुन्छ, तब ठूलो प्रश्न उठ्यो — सीताको खोजीमा लङ्का को जाने ?

सबैको नजर हनुमानजीतर्फ मोडियो । जिम्मेवारी पाउनासाथ हनुमानजीले ढिला नगरी लङ्का जाने तयारी सुरु गर्नुभयो । त्यसका लागि उहाँले एक विशेष काम गर्नुभयो — उहाँ एउटा स–सानो पहाडमा चढ्नुभयो, खुट्टाको दबाब जमाउनुभयो र त्यहाँबाट समुद्र पार गर्न विशाल फड्को मार्नुभयो ।

जब हनुमानजी देवी सीताको खोजी गरेर लङ्काबाट फर्किनुभयो, कसैले सोध्यो — “तपाईंले पहाडमा चढेर फड्को किन मार्नुभयो ? तपाईं त शक्तिशाली हुनुहुन्छ, जहाँ उभिनुहुन्थ्यो त्यहीँबाट पनि फड्को मार्न सक्नुहुन्थ्यो ।”

हनुमानजीले उत्तर दिनुभयो — “यदि फड्को लामो मार्नुपर्छ भने आधार बलियो हुनुपर्छ । आधार बलियो नहुने हो भने फड्को असफल हुन सक्छ । ठूलो सफलता चाहिन्छ भने आधार र योजनामा ध्यान दिनुपर्छ ।”

हनुमानजीको शिक्षा
हनुमानजीले देखाउनुभयो — कुनै पनि ठूलो काम, चाहे तपाईं कति सक्षम किन नहुनुहोस्, बलियो आधार बिना सुरु गर्नु हुँदैन ।

कुनै नयाँ परियोजना, परीक्षा, जागिर वा व्यवसाय सुरु गर्नु अघि पूर्ण तयारी र अनुसन्धान गर्नु जरुरी छ ।

योजना र सोच स्पष्ट हुनुपर्छ
हनुमानजीले पहिला परिस्थिति अवलोकन गर्नुभयो, पहाडको उचाइ बुझ्नुभयो, अनि त्यसमा चढेर फड्को मार्नुभयो । यसले देखाउँछ — सफलता केवल जोशले होइन, सोच र योजनाले प्राप्त हुन्छ ।

काम सुरु गर्नु अघि स्पष्ट कार्य–योजना बनाउनुपर्छ — के गर्ने, कहिले गर्ने, कसरी गर्ने ।

आत्मविश्वाससँगै आत्ममन्थन पनि आवश्यक
हनुमानजीसँग बल थियो, क्षमता थियो, तर उहाँले परिस्थिति जाँचेर मात्र कदम चाल्नुभयो । यसले सिकाउँछ — आत्मविश्वास राम्रो हो, तर अति–आत्मविश्वास खतरनाक हुन सक्छ ।

आफ्नो क्षमता मूल्याङ्कन गर्नुहोस्, र आवश्यक परे सिक्न वा सल्लाह लिन संकोच नगर्नुहोस् ।

सानो तयारी, ठूलो सफलता
पहाड चढ्ने उहाँको त्यो सानो कदम नै उहाँको विशाल सफलताको आधार बन्यो ।

सधैं स–साना तयारीलाई बेवास्ता नगर्नुहोस् — समयमै सुत्नु, पढाइको योजना बनाउनु, समय व्यवस्थापन गर्नु, वा अफिस बैठक अघि नोट तयार गर्नु ।

परिस्थितिको सही उपयोग गर्नुहोस्
हनुमानजीले प्रयोग गर्नुभएको पहाड त्यो स्रोतको प्रतीक हो, जुन हरेक मानिससँग हुन्छ । फरक केवल त्यसलाई पहिचान गरेर सही समयमा प्रयोग गर्नु हो ।

आफ्नो वरपरका अवसर, मानिस, समय र ज्ञानको स्मार्ट उपयोग गर्नुहोस् ।

जहाँ उभिनुभएको छ, त्यहीँबाट दौडिन नलाग्नुहोस् — पहिले जमिन हेरौं, आफूलाई हेरौं, अनि बलियो आधार बनाएर अगाडि बढौं । तपाईंको सफलताको फड्को तपाईंको आधारको मजबुतीमा निर्भर हुन्छ ।