२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन



अ+ अ-

गण्डकी। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ ।

पोखरा-३० को शिशुवा-खुदीखोला चार दशमलव १४ किमी सडक उद्घाटन भइसकेको छ भने पोखरा-३३ मा पर्ने कालिकास्थान-लामेआहाल-पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजनाअन्तर्गत पोखरा-२७ तालचोकबाट पोखरा-३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ ।

चार लेनको उक्त सडक आगामी कात्तिक मसान्तसम्ममा सक्ने गरी अन्तिम पटकलाई म्याद थप गरिएको आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा उक्त आयोजना सञ्चालनमा काम भइरहेको उहाँको भनाइ छ ।

विश्व बैंकको रु ४८ करोड ९६ लाख ३५ हजार २५४ आर्थिक सहयोगमा शिशुवा-खुदीखोला सडक निर्माण भएको हो । नालीसहित १५ मिटरमा दुई लेन सडक, एक दशमलव पाँच मिटर साइकल लेन र दुई दशमलव पाँच मिटर फुटपाथ ट्रयाक रहेको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले विसं २०८१ वैशाख २ गते निर्माण सम्झौता गरी निर्धारित समयमै सडकको काम सकेको उहाँको भनाइ छ ।

कालिकास्थान-लामेआहाल-पुँडीटार सडक निर्माण पनि गत असारमै पूरा भएको उहाँले बताउनुभयो । पोखरा भित्रिने वैकल्पिक सडकका रूपमा हेरिएको उक्त सडकको दूरी १२ दशमलव ४४ किमी रहेको छ । साइकल ट्रेक र फुटपाथसहित सडक निर्माण गरिएको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा ठेक्कामा उक्त सडक बनाएको हो ।

पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले छिटपुटबाहेक सडक निर्माण सकिएको बताउनुभयो । सडक उद्घाटन भने भइसकेको छैन । सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्ने योजना रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रिने वैकल्पिक मार्गका रूपमा यो सडकलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति भएसँगै आवतजावत तथा स्थानीय उत्पादनको बजारीकरणमा पनि महत्वपूर्ण टेवा विश्वास लिइएको छ । साविक भरतपोखरी गाउँ विकास समिति रहेको यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिए पनि अपेक्षित रूपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उहाँको भनाइ छ ।

निर्माणमा ढिलासुस्ती भइरहेको तालचोक-बेगनास सडकलाई थपिएको म्यादभित्र काम सक्न महानगरले ताकेता गरिरहेको महानगरप्रमुख धनराज आचार्यले बताउनुभयो । उक्त सडकमा देखिएको जग्गाको मापदण्डलगायत विवाद समाधान भइसकेकाले अब निर्माणले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “सडकको काम पूरा गर्न निर्माण कम्पनीलाई समयसीमा दिएका छौँ । समयमै काम सकिनेमा हामी विश्वस्त छौँ”, प्रमुख आचाार्यले भन्नुभयो ।

विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक-बेगनास सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द-सपना-वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो ।

रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिनुभयो । फुटपाथ ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उहाँको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने बताउँदै उहाँले सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा रहेका जानकारी दिनुभयो । अहिले सडक विस्तार, फुटपाथ, कल्भर्ट, नाला र पर्खाल निर्माण  भइरहेको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरको गौरवको आयोजनाका रूपमा तालचोक-बेगनास सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण सुरु भएको थियो । रासस