काठमाडौं । जेन्जीको आन्दोलनका क्रममा हिजो घरमै आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनकै घरमा आन्दोलनकारीहरुले आक्रमण गरी उनीहरुलाई घाइते बनाएका थिए । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी अस्पताल लगेको थियो ।
काठमाडौँकै एक अस्पतालमा उपचाररत सभापति देउवाको टाउको र छातीमा गम्भीर चोट लागेको छ । बृद्ध उमेरका देउवाका टाउकामा धेरै पटक हिर्काइएकाले बाहिर चोट नदेखिए पनि मस्तिष्कमा असर देखिएको अस्पताल स्रोतले जनाएको छ । त्यस्तै उनको छातीमा पनि खुकुरीको चोट लागेको छ । एक युवाले हानेको खुकुरी अर्काले रोकेकाले कम क्षति भएको भए पनि छातीमा खुकुरी बज्रिएकाले भित्रैदेखि चोट देखिएको छ ।
हिजो सार्वजनिक भएको भिडियोमा पनि एक युवाले देउवाको अगाडि नै खुकुरी नचाएका देखिन्छ । देउवाको पारिवारिक स्रोतले भन्यो ती युवाले हानेको खुकुरी अर्काले रोकेका कारण अप्रिय घटना हुन पाएन, तर पनि खुकुरी भने छातीमा बज्रिएको र चोट बढी देखिएको छ ।
उहाँको टाउकाको सिटी स्क्यान गरेर थप उपचार थालिएको छ । तर टाउकामा धेरै पटक हिट गरेको चोट देखिएकाले अवस्था गम्भीर हुन पुगेको अस्पतालले जनाएको छ ।
त्यसैगरी देउवा पत्नी आरजुको पनि टाउकामा चोट लागेको छ । उनलाई पनि टाउको र छातीमा नै चोट देखिएको सो अस्पतालले जनाएको छ ।










