६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा
अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् ।

उहाँले बाजेबाट हुडके (ठूलो डमरुजस्तै बाजा) बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उहाँले भन्नुभयो, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हुँ, मौखिक रूपमा इतिहासका पात्रहरू (वीरविरङ्गनाहरू)को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”

“पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्यो, अहिले वर्षमा एकपटक पनि हुडकेली नाच्न माग हुँदैन”, उहाँ थप भन्नुहुन्छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बसना गाउँमा जन्मिएका गङ्गाराम २५ वर्षको उमेरमा तराई झरेका हुन् । उहाँले हुडकेली कला पनि साथमै ल्याउनुभयो तर यसैमा जीवन धान्न भने नसकिएको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार पहिलाका दिनमा हुडकेली विशेषगरी हुनेखाने परिवारले मात्र लगाउँथे । हुडकेली प्रदर्शनबापत कलाकारलाई पाथी चामल, खसी, बोका दिने चलन थियो ।

ताउला भादला, चरुलगायत भाँडाकुँडा दिने प्रचलन पनि थियो । त्यतिबेला हुडकेलीमै जीविका चल्थ्यो । तर, आधुनिक रहनसहन, वेशभूषा र जीवनशैलीसँगै यो परम्परा विस्तारै हराउँदै गएको छ । “पुरानो पुस्ताले हुडकेली गाए, नाचे, नयाँ पुस्ताले सिक्नै चाहेन”, गङ्गाराम भन्नुहुन्छ, “अहिले सबैलाई आधुनिक साउण्ड सिस्टम, व्याण्डबाजाको मोह छ, त्यसैले हुडके बाजा पाउन पनि मुस्किल भएको छ ।”

सुदूरपश्चिमको लोककलाका जानकार गोरे दमाई भन्नुहुन्छ, “लोकसंस्कृतिलाई जोगाउनुपर्छ भन्ने सबैको भनाइ हुन्छ, तर कसैले पनि हुडकेली सिक्ने, अभ्यास गर्ने चासो देखाउँदैनन्, हुडकेली लोप हुनै लाग्दा पनि चासो छैन ।”

पूर्वजनप्रतिनिधि टेकबहादुर हमालका अनुसार युद्धमा लड्ने सैनिकहरूको मनोबल उच्च राख्न वीरगाथा सुनाएर मनोरञ्जन दिने माध्यमका रूपमा यसको प्रयोग हुन्थ्यो । हुडकेली नृत्यका प्रस्तुतकर्ताले वीरगाथा, ऐतिहासिक घटना र वीरताको कथा गीतमार्फत प्रस्तुत गर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसै क्रममा नृत्यमा तलबार र ढालको करतब देखाइन्छ । गायनलाई दमाहा, हुडका र घुँघरुको तालले साथ दिइन्छ, हुडकेलीका नृत्यङ्गनाले टाउकोमा मखमलको पगडी, शरीरमा भोटो र सेतो रङको झकुलो ९विशेष पहिरन० लगाउँछन् ।”

हातमा हुडका, हुडकाको डोरीमा घुँघरु, चौँरीगाईको चमर, कम्मरमा कूलदेवताका घण्टी, चौँरीगाईको पुच्छरको सजावटसहित नृत्य गरिने चलन रहेको उहाँले बताउनुभयो । “परापूर्वकालमा राजारजौटाहरू युद्धमा जितेर फर्केपछि खुसीयालीस्वरूप हुडकेली लगाउने चलन थियो, यो नृत्य डोटी र कुमाउँको इतिहाससँग जोडिएको मानिन्छ”, उहाँ भन्नुहुन्छ ।

एक जना नाच्दै हुडका बजाउँछन् र गीतिकथा भट्याउँछन् । दुई जनाले युद्धको झल्को दिनेगरी तलबार र ढालको करतब देखाउँछन् । पाँच जनाले दमाहा बजाउँदै गीतमा साथ दिने गर्छन् । नृत्यङ्गनाको सिको गर्दै गाउनेलाई पछुवा वा ‘जोले’ भनिन्छ ।

यसरी प्रस्तुत हुने हुडकेली आफैँमा रोमाञ्चकमात्र नभई डोटेली इतिहासका पात्रहरूको सम्झना गर्ने माध्यम रहेको उहाँ उल्लेख गर्नुहुन्छ । “पहिलाका दिनमा हुडकेली लगाउँदा गाउँभरिका मानिस एकैठाउँमा भेला भएर हेर्ने प्रचलन थियो”, टीका दमाईले भन्नुभयो, “दलित समुदायका हुडकेली लगाउने कलाकारलाई थितो दिने, जग्गामा बालो बर्सी (एक वर्ष अन्न कमाएर खाने अधिकार) दिने चलन हुडकेलीसँग गाँसिएको थियो, हुडकेली नै लोप हुने सङ्घारमा पुगेकाले पुराना रीतितिथिहरू पनि विस्तारै ओझेलमा पर्दै गए ।”

हुडकेली नृत्य केवल सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमै सीमित नभएर भारतको उत्तराखण्ड प्रदेश (कुमाउँ–गढवाल)मा समेत शुभअवसरमा यसलाई प्राथमिकता दिने गरिन्थ्यो । लोकसंस्कृतिका जानकार मानसिं भण्डारी भन्नुहुन्छ, “हुडकेलीमा वीरगाथा सुनाइन्छ, युद्धकौशल देखाइन्छ, वंशावलीको वर्णन हुन्छ, यसले तत्कालीन राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई प्रतिविम्बित गर्छ ।”

उहाँका अनुसार हुडकेली नृत्य १८०१ सालभन्दा अगाडि नै अस्तित्वमा रहेको थियो । बाइस पाट कुमाउँ अम्मरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित गीतिकथा हुडकेलीको प्रारम्भमा सुनाइने भएकाले यो नृत्य भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण मानिन्छ ।

हुडकेली सुरु गर्दा गुरु र देवताको नाम स्मरण गर्ने भएकाले यसले धार्मिक आस्था, समाजिक सद्भाव र मान्यतालाई अगाडि बढाउने कार्य गरेको उहाँ बताउनुहुन्छ । डोटेली इतिहासका वीरपात्र शोभी रावत, विगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुवुजु रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतका कथा हुडकेलीमा गाइन्छ । यो नृत्य वीरगाथा सुन्ने, मनोरञ्जन गर्ने र इतिहास सम्झाउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ ।

नृत्यलाई अझ आकर्षक बनाउन कलाकारले अनौठा कलाकौशल पनि देखाउँछन् । उदाहरणका लागि उल्टो परेर आँखाको परेलाले सियो वा पैसा उठाउने कामसमेत गरिन्छ । यो साहसीमात्र नभई कठिन कलाका रूपमा लिइन्छ ।

“हुडकेली दमाई समुदायले जगेर्ना गर्दै आएको नृत्य हो”, भीम दमाईले भन्नुभयो, “यो पुर्खाले सिकाएको कला परम्परा नयाँ पुस्ताले सिकेन भने केही वर्षमै हुडकेली केवल किताबका पानामा मात्र सीमित हुनेछ ।” यसैले संस्कृति संरक्षणका निकाय, स्थानीय तह र समाजसेवी संस्थाले हुडकेलीलाई पुनर्जीवित गर्न पहल नगरेसम्म सुदूरपश्चिमको यो गौरवमय लोकनृत्य इतिहासकै पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको सुदूरपश्चिमको संस्कृतिका जानकारहरूको भनाइ छ । रासस