२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनामुक्त भएको भनिएका अन्सारी पुनः अस्पताल भर्ना



अ+ अ-

वीरगञ्ज । कोरोनामुक्त भनिएका एक युवक पुन अस्पतालमा भर्ना भएका छन् । कोरोनामुक्त भएको भनी डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः उपचारका लागि अस्पताल भर्ना भएका हुन् । 

अन्सारी वीरगञ्जस्थित नारायणी अस्पतालमा वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गराएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो, चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्जार्च गरी घर पठाईएको तर पछि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट शंकास्पद देखिएपछि पुनः अस्पतालमा भर्ना गरिएको हो । 

अस्पताल स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी पठाएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो ।

अस्पताल ल्याएपछि शनिबार राती नै पुनः उनको स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाईएको छ । अस्पतालले शनिबार नै अन्सारीसँगै बैशाख १४ मा डिस्चार्ज गरिएका वीरगञ्जका अन्य तीन जना भारतीय नागरिकको स्बावको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

वैशाख १४ गते कोरोनामुक्त भएको भनी अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्सबाट घर गई परिवार र आफन्तसँग बस्दै आएका थिए तर बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका अनि शनिबार बेलुकी नारायणी अस्पतालको एम्बुलेन्स गएर उनलाई घरबाट अस्पताल ल्याएको बताईएको छ ।

बैशाख १४ गते अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको जानकारी दिदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेर पठाउन आग्रह गरेको अस्पताल स्रोतले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाब संकलन गरेर पठाउन आग्रह गरेपछि अंसारीसंगै उनको घर परिवार तथा आफन्त १३ जनाको स्वाब नमूना बुधबार संकलन गरी पठाईएको तर अंसारीको पोजेटिभ र अन्य सबैको नेगेटिम देखिएकाले पोजेटिभ देखिएका अंसारीलाई शनिबार उपचारका लागि पुनःअस्पताल भर्ना गरिएको श्रोतले बताएको छ ।

अन्सारीसँंगै कोरोनामुक्त भई डिस्चार्ज भएका भारतका तीन भारतीय नागरिकहरु वीरगन्ज वडा नम्बर २ छपकैयाको यतिमखाना नजिकैका घरमा होम क्वारेन्टाईनमा रहेका छन् ।