काठमाडौँ । अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
३५ वर्षीय स्टार्कले अब टेस्ट र २०२७ मा हुने एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले अन्तिम टी–२० खेल २०२४ को विश्वकपमा खेलेका थिए ।
स्टार्कले ६५ टी–२० खेल्दै ७९ विकेट लिएका छन् । उनी अस्ट्रेलियाका लागि टी–२० मा दोस्रो सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनी २०२१ मा यूएईमा भएको टी–२० विश्वकप जित्ने टोलीका सदस्य पनि थिए ।
स्टार्कले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता भएको भन्दै २०२६–२७ को व्यस्त टेस्ट तालिका र २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएका छन् ।
चयन समिति अध्यक्ष जर्ज बेलीले स्टार्कको योगदानको प्रशंसा गर्दै उनले टेस्ट र एकदिवसीय क्रिकेटमा अझै लामो समय योगदान दिने विश्वास व्यक्त गरे ।
यसैबीच अस्ट्रेलियाले अक्टोबरमा न्युजिल्यान्डविरुद्ध हुने तीन टी–२० खेलका लागि टिम घोषणा गरेको छ ।










