सोलुखुम्बु। लगातार वर्षापछि थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ का पाँच घर पूर्ण रूपमा बगाएको छ।
थामे खोलाले धार परिवर्तन गर्दै बस्तीमा पस्दा ५ घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। साथै ६ घर आंशिक रूपमा प्रभावित भएका छन्।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार बाढीका कारण बिजुली पोल, वितरण लाइन र सञ्चार सेवासहितका पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले उद्धार तथा राहतका लागि तत्काल मानवीय सहयोग अपरिहार्य भएको बताएका छन्।
यद्यपि बाढीबाट कुनै मानवीय क्षति नभएको प्रहरीको पुष्टि छ। निरन्तर भइरहेको वर्षाले थप जोखिम बढाउन सक्ने भन्दै गाउँपालिकाले थामे क्षेत्रसहित सम्पूर्ण तटीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।










