काठमाडौँ । एसियन ओलम्पिक काउन्सिल (ओसीए)ले नेपालका दुई खेल संघका पदाधिकारीलाई दुई वर्षका लागि निलम्बन गरेको छ ।
ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले नेपाल एक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा निर्णय गरिएको जनाइएको छ ।
ओसीएले दुवैलाई पत्र लेखेर आगामी २ वर्ष ओसीएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने जनाएको छ ।
यस निर्णयका बारेमा दुई जनासँगै जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी र सम्बन्धित खेल संघलाई पनि बोधार्थ गरी पत्र लेखिएको छ ।
रवि र निलेन्द्र दुवै एनओसी तदर्थ समितिका सदस्य पनि हुन् ।










