१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा विस्तारित सडक धमाधम निर्माणको काम शुरु



अ+ अ-

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

ढोहाहिटी–लेले, कर्मनाशा खोला–गोदावरी कुण्ड, इमाडोल–लामाटार र जोरपाटी–सुन्दरीजल सडकमा निर्माण शुरु भएको हो । यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । निर्माण सामग्री र जनशक्ति उपलब्ध सडकमा नै निर्माण अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै जनशक्ति नचाहिने र उपलब्ध सामग्रीबाटै गर्न सकिने काम भइरहेको छ ।”

चापागाउँ–ढोलाहिटी सडकमा दुईवटा ठेक्कामध्ये एउटामा काम भइरहेको र अर्कोमा नभएको आयोजनाले जनाएको छ । टाखेलबाट लेलेसम्मको खण्डमा अहिले आवश्यक पूर्वाधार निर्माण भइरहेको उहाँले बताउनुभयो । यहाँ सडक निर्माणका लागि भित्ता खन्ने र आवश्यक स्थानमा पुर्ने काम भइरहेको छ । यो वर्ष लक्षित गरिएको जति भने गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध जनशक्ति र साधनले जति सम्भव हुन्छ त्यति नै काम भइरहेको हो ।”

सुन्दरीजल–जोरपाटी सडकमा दुईवटा ठेक्कामध्ये दुवैमा काम भइरहेको छ । यो सडकमा पनि संरचना निर्माणकै काम बढी भइरहेको छ ।  यहाँ रुख हटाउने, हिमुपाइप राख्ने, पैदल यात्रु मार्ग निर्माणलगायतका काम अघि बढेको प्रमुख अधिकारीले बताउनुभयो । यस सडकमा ६७ रुख हटाउनुपर्ने भए पनि अहिलेसम्म ५८ रुख मात्रै हटाइएको छ । नौ रुख विद्युत्को तारका कारण हटाउन सकिएको छैन । रुख हटाउनका लागि विद्युत् प्राधिकरणलाई पत्राचार गरिएकामा प्राधिकरणले ‘सट डाउन’ गर्नुपर्ने भए पनि अहिले गर्न नसकिने बताएको थियो । उहाँले भन्नुभयो, “अहिले लकडाउनका समयमा धेरैले अनलाइन कक्षा सञ्चालन गरिरहेकाले सट डाउन गर्न नसकिने प्राधिकरणले भनेको छ ।”

निर्माणाधीन इमाडोल–लामाटार सडकमा तीन ठेक्कामध्ये अहिले दुई ठेक्कामा काम भइरहेको छ । यो सडकमा पनि ह्विमपाइप बिच्छाउने काम भइरहेको छ भने गोदावरी सडकमा पैदलयात्रु मार्ग निर्माणकै काम भइरहेको छ । 

अहिले भइरहेकै सामग्री र जनशक्तिबाट निर्माण भइरहे पनि जनशक्ति र निर्माण सामग्री थप्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय काठमाडौँले ‘ओभर ले’ शुरु गरेकामा अहिले निर्माण सामग्री नहुँदा निर्माण अघि बढिरहेको छैन । विस्तारित सडकमा पनि सडक पूर्णरुपमा काम गर्न निर्माण सामग्रीको अभाव रहेको छ । ललितपुरको लेले र काभ्रेपलाञ्चोकको दोलालघाटबाट निर्माण सामग्री ल्याइने गरेकामा अहिले सामग्री ल्याउन नसकिएको प्रमुख अधिकारीले बताउनुभयो । 

त्यस्तै, कतिपय जनशक्ति पनि काम नहुँदा केही समय पहिले घर फर्किएका थिए । उहाँले भन्नुभयो, “काठमाडौँमै रहेका कामदारलाई काम लगाए पनि अहिले जिल्लाबाट ल्याउन सकिने अवस्था छैन ।”

आयोजनाले चालु आवमा झण्डै आठ किमी सडक कालोपत्र र २५ किमी सडकमा पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको थियो । आंसिकरुपमा काम भइरहे पनि लक्ष्यअनुसार गर्न नसकिने उहाँले बताउनुभयो । शुरु भएका ठेक्कामा पनि निर्माण सामग्रीको अभावसँगै यातायातको पनि समस्या रहेको  छ । उहाँले भन्नुभयो, “हामीलाई आवश्यक मात्रामा पास उपलब्ध भइरहेको छैन ।”

सरकारले विसं। २०७२ मा उपत्यकामा १० सडक विस्तार शुरु गरेको थियो । आयोजनाले काठमाडौँमा चार, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये त्रिपुरेश्वर–कङ्की–नागढुङ्गा सडक निर्माण सम्पन्न भएर आवश्यक मर्मतको काम भइरहेको छ । चाबहिल–साँखु सडकमा पनि थोरै सडक मात्रै कालोपत्र बाँकी छ । निर्माणाधीन दुई पुलमध्ये बिजुलीबजारस्थित धोबीखोला पुल केही महिना पहिले नै निर्माण सम्पन्न भएर सञ्चालनमा छ भने तीनकुनेस्थित वाग्मती पुल अझै अलपत्र अवस्थामा छ । 

पहिले साबिक छ÷सात मिटरसम्म चौडाइ रहेको सडकलाई २० देखि २२ मिटर चौडा बनाउने गरी ठेक्का सम्झौता भएको थियो । त्यतिबेला निर्माणस्थल खाली गराउँदै काम गर्ने भन्दै सरकारले ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि कतिपय स्थानमा निर्माणस्थल खाली हुन सकेको छैन । 

विस्तारका क्रममा रहेका अधिकांश स्थानमा सडकसँगै घर भएका स्थानीयवासीले सरकारसँग घर र जग्गा दुवैको मुआब्जा मागेका छन् ।  सडकलगायत कुनै पनि पूर्वाधार निर्माण गर्दा जग्गाको मुआब्जा दिने नियम छैन । मुआब्जा विवादसँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन लामो समय लागेकाले पनि ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।