२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता

नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता
अ अ+ अ-

म्याग्दी। बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ ।

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा पर्नुभएको छ ।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गर्नुभएको थियो । “असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए”, नरमायाले भन्नुभयो, “१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन ।”

नरमायालाई नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले गर्यो कि ? भन्ने आस लाग्छ । छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँदेखि घर फर्कने आँट आएको छैन ।

“छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु ?”, नरमायाले प्रश्न गर्नुभयो, “तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो । भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो ।” खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ ।

नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्नुहुन्थ्यो । नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनको थिइन् । अवस्था पहिचान नभएपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काज किरिया भइसकेको छ ।

नरमायाले आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको बताउनुभयो । नन्दबहादुरले नागरिकता बनाएका थिएनन् । उनीहरूबीच कागजी रूपमा विवाह दर्ता पनि भएको थिएन । प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित हुनुहुन्छ ।

कक्षा ८ सम्म पढेका भुपेन्द्रले बहिनीलाई ज्याला, मजदुरी गरेर कक्षा १० सम्म पढाए । गत जेठमा नाकमा समस्या देखिएपछि भुपेन्द्रले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए । भुपेन्द्रले पोखराबाटै आमालाई घर पठाएर मजदुरी गर्न रसुवा गएका थिए । नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन । मासिक रु २१ हजारको औषधि सेवन गर्नुपर्छ । नरमायालाई थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो ।

स्थानीय ओखरबोट माविका शिक्षक नवीन पुनले नरमायाको जीवनमा एकपछि अर्को बज्रपात परेको बताउनुभयो । “नरमायालाई चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरेर थप उपचारका लागि काठमाडाँै वा भारत जान भनेपछि पैसा जुटाउन रसुवा पुगेका भुपेन्द्रलाई बाढीले बेपत्ता बनायो”, उहाँले भन्नुभयो, “नरमायासामु बेपत्ता छोरा खोज्नेमात्र नभएर आफ्नो उपचार कसरी गर्ने भन्ने चुनौती सृजना भएको छ ।”

बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आफ्नो उपचारका लागि स्रोत जुटाउन हिँडेकी आमालाई सघाउन सकेकी छैनन् । शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ ।

“एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरेको अपिलबाट नरमायाको खातामा करिब रु दुई लाख ५० हजार जम्मा भएको छ । प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब रु आठ लाख जुट्ने अनुमान गरेको छु”, पुनले भन्नुभयो, “रोग पहिचान र उपचार गरिदिन पाए हुन्थ्यो तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नभएर अप्ठ्यारो परेको छ ।” रासस