१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनः शहरबाट गाउँ आएका युवाहरुले श्रमदान गरि बनाए सडक



अ+ अ-

म्याग्दी । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीकापछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सडक निर्माण गरेका छन् । भगवतीको पखटोलमा काठमाडौं, पोखरा र बेनीलगायतका शहरबाट आएका युवाहरुले श्रमदान गरेर एक किलोमिटर सडक खनेका हुन् । बाक्लो बस्तीभित्र सवारी साधनमार्फत आवातजावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेका स्थानीय निर्मल केसीले बताए । स्थानीयवासी अर्जुन खत्रीको संयोजनमा दैनिक १० युवाले घरायसी र खेतबारीको कामबाट बचेको समयमा सडकमा श्रमदान गरेका थिए । सडकबाट ५० घरधुरी लाभान्वित हुने जनाइएको छ । सो वडाका वडाध्यक्ष रिमबहादुर कटुवालले युवाहरुलाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने बताए । 

म्याग्दीको अन्य ठाउँमा पनि लकडाउनपछि गाउँमा पुगेका युवाहरुले स्थानीय तहले बजेट विनियोजन गरेका सडक, खानेपानी, भवनलगायत विकास निर्माणको कामको नेतृत्व गरेका छन् । बेनीमा बस्दै आएका बेनी–१० पात्लेखेतका धनबहादुर रोकाले लकडाउनपछि गाउँ गएको समयमा उपभोक्ता समितिको नेतृत्व गरेर नेपानेबाट धैरेनीटोल जोड्ने सडक निर्माण गरेका छन् । “डोजर र स्थानीय जनशक्ति परिचालन गरेर सडक खनेका हौँ”, उनले भने, “लकडाउनका बीच गाउँमा सडक पुर्याउँदा खुशी भएका छौँ ।” नेपानेबाट धैरेनीटोल जोड्ने सडक दुई किलोमिटर छ । २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जिप, ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन चलाउन सकिने भएको छ । सडक पाँच मिटर फराकिलो छ । बेनी नगरपालिकाले रु चार लाख विनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले रु एक लाख बराबरको श्रमदान गरेका थिए । 

लकडाउनकै बीच अन्नपूर्ण गाउपालिका–५ शिखको तल्लो गाउँबाट घिर्वाङ जोड्ने २.५ किलोमिटर सडक निर्माण भएको छ । स्थानीयस्तरमा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिए । रु  १५ लाख ७१ हजार ८७० को लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउपालिकाले रु आठ लाख २५ हजार विनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगदसमेत परिचालन भएको वडाध्यक्ष दिनेश तिलीजाले बताए।  

सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका छ । आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारीलगायत कृषि उपज निकासीमा सहज भएको छ ।