२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनका बेला घरमै सामाजिक सुरक्षाभत्ता



अ+ अ-

जुम्ला । लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउन थालेका छन् । यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकामा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पुर्याउन थालिएको हो । 

जिल्लाको तिला गाउँपालिकाले लकडाउनको बेला घरमै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरमा पुगेर वितरण गर्न वडाध्यक्ष र सचिवलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

हिमा गाउँपालिकाले पनि सात वडाभित्रका स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयवासीको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गरेको छ भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।  

गुठीचौर गाउँपालिकाले दुई हजार १९६ जनालाई दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता वितरण गर्न रु एक करोड २६ लाख छ हजार ८०० रकम निकासा भएको जनाएको छ । ३–५ वडाभित्रका स्थानीयवासीलाई बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताउनुभयो । भौगोलिकरूपमा १ र २ वडा टाढा भएकाले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको उहाँको भनाइ छ । 

लकडाउन अवधिमा १० हजार ७०८ गृहजिल्ला आएका नागरिकमध्ये ३५६ क्वारेन्टाइनमा बसेका छन् भने ७४७ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाँच सय छ होम क्वारेन्टाइनमा बसेका छन् । आरटी पिसीआर परीक्षण ३५१ जना गरिएको छ भने र्यापिड टेष्ट २२६ को गरिएको जनाएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पिसीआर परीक्षणका लागि २२ जनाको स्वाब सङ्कलन गरेको छ । यसको नतिजा आउन बाँकी रहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।