एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् । रूस र युक्रेनबीच युद्धविराममा कुनै सहमति भएन । ट्रम्पले अहिले यति चाँडै युद्धविराम सम्भव नभएको बताए ।
यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा छलफल भएको थियो । ट्रम्पले भने कि अमेरिका र युरोपेली देशहरूले यसमा मिलेर काम गर्नेछन् । यसैबीच, रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन)ले ट्रम्पले बैठक रोकेर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ ।
यस समयमा पुटिनले रूस र युक्रेनका प्रतिनिधिहरू बीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे । जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिनले १५ दिन भित्र जेलेन्स्कीलाई भेट्न सहमति जनाएको बताए ।
बैठकपछि जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनले युरोपेली पैसा प्रयोग गरेर ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने बताए ।










