१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज २७ औं मदन आश्रित स्मृति दिवस मनाइदै



अ+ अ-

शिशिर सिंखडा, चितवन । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको छ । 
नेकपा चितवनका नेताहरुले पनि आज मदन आश्रितको दुर्घटना भएको स्थान दासढुंगामा पुगि उहाँहरुको शालिकमा माल्यर्पण गर्ने कार्यक्रम रहेको छ । बि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउँदै आएको छ ।

आज दिवसका अवसरमा काठमाडौंमा नेकपाका नेताहरुले स्वर्गीय नेताहरुको तस्बिरमा माल्यापन गर्ने कार्यक्रम रहेको छ । गत २ बर्ष अगाडिको जेठ ३ गते नै दुई पार्टी एमाले र एमाओवादीको एकीकरण भएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेकपाका  नेताहरुले स्वर्गीय नेता हरुको तस्बिरमा माल्यापन गर्नु हुनेछ । घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।

पोखराको सभालाई सम्बोधन गरि चितवन तर्फ जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा भण्डारी र आश्रित दुर्घटनामा पर्नु भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित हुनु हुन्थ्यो । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आउनु भएको छ ।उहाँहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्र्द्भिक रहेको बताउँदै उहाँ जस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आउनु भएको छ । 

भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो । उहा तत्कालीन नेकपा मालेको केन्द्रीय पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बन्नु भएको थियो ।विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला सन ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नु भएको थियो  ।

डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल हुनुभएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल मार्क्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।उहाँले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नु भएको थियो । मदन भण्डारीको धर्मपत्नी  विद्यादेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहनु भएको  छ । तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको धर्मपत्नी माया ज्ञवाली  पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फको सांसद समेत रहनु भएको छ ।