१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको महशुल तिर्नुपर्दैन भनेर सरकारले कहिल्यै नभनेको स्पष्ट पार्नुभएको छ ।

विद्युत प्राधिकरणले प्रवाह गरेको विद्युत उद्योगधन्दाहरुमा प्रयोग भएको र महशुल नतिरेर थन्किएको अवस्था रहेको बताउनु भयो । त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले उद्योगधन्दाहरुले प्रयोग गरे जति विद्युतको महशुल तिर्नुपर्ने बताउनु भयो । सरकारले सधैँ प्रयोग गरेको जति विद्युतको महशुल तिर्नुपर्ने बताएको पनि उल्लेख गर्नुभयो । प्रयोग भएको विद्युतको महशुल तिर्नुपर्दैन भन्नेकुरा सरकारको कल्पना बाहिरको कुरा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रवाह गरेको विद्युत, उद्योग धन्दाहरुमा दिएको विद्युतको महशुल नतिरेर थन्किएको अवस्थामा छ । त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण हो । जति प्रयोग गरेको हो, त्यो बराबरको असुल गर्न सक्नुपर्छ । त्यो तपाईंहरुको होइन, विद्युत प्राधिकरणको काम हो । सरकारले कहिले पनि भनेको छैन । यो विद्युतको महशुल उठाउनु हुँदैन भनेर । सरकारले यति मात्रै भनेको छः चाहे त्यो लाल आयोगको कुरा गर्नुस्, चाहे क्याबिनेट निर्णयको कुरा गर्नुस् वा मन्त्रालयको निर्णयको कुरा गर्नुस्, खालि के भनेको छ भने मान्छेलाई अन्याय हुन दिनु हुँदैन, जति प्रयोग गरेको हो, त्यतिको असुली गर्नुपर्दछ । अहिले तपाईंले खाइरहेको खाना १ हजार, १५ सयको हुनसक्छ, त्यसको निश्चित मूल्य छ । त्यसका आधारहरु छन् । तर त्यो खानालाई ५ हजार रुपैयाँ हाल्नुभयो भने के हुन्छ ? फरक यति मात्रै हो । तिर्नु पर्दैन, उठाउनु हुँदैन भन्ने यो सरकारको कल्पना भन्दा बाहिरको कुरा हो ।’

उद्योगलाई निरुत्साहित गरेर नभइ न्यायोचित प्रक्रियाबाट काम गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । टिओडी मिटरका आधारमा रकम असुल गर्ने उल्लेख गरिएको भन्दै टिओडी मिटर किन नराखेको भन्दै प्रश्न गर्नुभयो ।