२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा थपियो लकडाउन अवधि



अ+ अ-

नयाँदिल्ली — महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि भन्दै भारत सरकारले जारी राखेको लकडाउनको अवधि ३१ मे सम्म थपेको छ । गृह मन्त्रालयले २४ मार्चदेखि लागू गरेको पछिल्लो लकडाउनलाई थप १४ दिन बढाउने निर्णय गरेको हो ।

गत ४ मे देखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि आजै आइतबार पूरा भएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँग लकडाउन थप्ने वा नथप्ने विषयमा भिडियो कन्फरेन्समार्फत् सुझाव लिनु भएको थियो । धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमशः खुकुलो बनाउँदै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए ।

सोमबारदेखि सुरु हुने चौथो चरणको लकडाउनको स्वरुप भने तय हुनै बाँकी छ । भारतीय संचार माध्यमहरुले कोरोनाबाट सर्वाधिक प्रभावित राज्य र जिल्लालाई पूर्ण रुपमा लकडाउनमा राख्ने र बाँकी क्षेत्रमा उद्योग, व्यवसाय, यातायात खोल्न दिने बताएका छन् । यस सहजीकरणका साथै भारतभर आन्तरिक उडानहरु निश्चित शर्तसहित खुला गर्ने बारेमा पनि केन्द्र सरकारले निर्णय लिने बताइएको छ ।

भारतमा एकै दिन झण्डै पाँच हजार कोरोना संक्रमित देखिएपछि भारत सरकार दबाबमा परेको हो । भारतमा हाल ९० हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् भने झण्डै २९ सयको मृत्यु भइसकेको छ । (एजेन्सी)