२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुशीको खबर ! मान्छेमा गरिएको कोरोना विरुद्धको खोप सफल



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा मान्छेमा गरिएको कोरोना विरुद्धको खोप सफल भएको छ । यो पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण हो । यो खोपले काम गरेको अर्थात् सफल भएको बताइएको छ। अब यो मानिसमा प्रयोग गर्न सकिने भएको बताइएको छ । खोपमा अरु केही सामान्य थप परीक्षणहरु गर्नुपर्ने छ । त्यसपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात ढिलोमा माघसम्म कुर्नु पर्ने भएको छ।

अमेरिकामा रहेको नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले यो खोप बनाएको हो । मोडेर्नाले सोमबार साँझ खोप सम्बन्धि जानकारी अनुसार एमआरएनए, १२७३ खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिएभन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ । शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ ।

खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको पनि त्यस कम्पनीले जनाएको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बैसेलले तत्काल योभन्दा उत्तम नतीजाको आशा गर्न नसकिने बताएका छन् ।

थप परीक्षणपछि मात्र खोप बजारमा आउन सक्ने छ । पहिलो चरणको परीक्षण सफल भएको सो कम्पनीले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठमध्येको एक कम्पनी हो । अन्य दुई कम्पनी फिजर र इनोभियो पनि अमेरिकामा नै परीक्षण गरिरहेका छन् ।

मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो । उनीहरु सहित १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ। 

खोप विज्ञहरुले यसलाई ठूलो उपलब्धि भएको बताएका छन् । खोप परीक्षण सफल भएको खबरसँगै अमेरिकी शेयरबजारमा मोडेर्नानाको शेयर ३० प्रतिशतले बढेको छ । (एजेन्सीहरुको सहयोगमा)