काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ ।
उहाँले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताउनु भयो । उहाँले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताउनु भयो । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उहाँको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताउनु भयो । नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि दाबी गर्नुभयो । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उहाँको आरोप छ । नेपालीहरुले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरु उठाइरहेको र अब विस्तारै सफल हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रुपले असफल भइसकेको छ । यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । जनता पूर्ण रुपमा निराश भइसकेका छन् । नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प छैन । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर छौँ । अगुवाई गरिरहेका छौँ । नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ । नेपाली जनताले विस्तारै संघीयता र गणतन्त्र असफल भएको महशुस गरेकै छ । यसलाई परिवर्तन गर्नुपर्छ भनेर नेपाली जनताले सोच बनाइरहेको छ । अघि बढेको छ । राज्य तर्सेर, डराएर तीनकुने घटना र जेठको १५ गतेको आन्दोलनपछि हच्केको छ । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको छ । यो प्रयास सफल हुँदैन । किनभने नेपाली जनताले देशमा परिवर्तन चाहिन्छ, सयकडौँ राजा भन्दा एउटा राजा, संवैधानिक राजा, नेपाली जनताका छोराछोरीले राजनीति गर्ने, संविधानभित्र रहेर बस्ने राजाको कल्पना नेपाली जनताले गरिरहेको छ । यथार्थमा परिणत हुन्छ, सार्थक हुन्छ । अब चुप लागेर बसिरहने स्थिति छैन, बाटो देखाइरहेका छौँ, सहयोग गरेर अघि बढ्नुस् ।’
उहाँले बर्खापछि राष्ट्रवादी शक्तिहरु एकसाथ भएर अघि बढ्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल









