काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रणालीगत कमजोरी र राज्य संयन्त्रमा बस्नेहरुले अधिकारको दुरुपयोग गर्दा बेरुजुको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सदुपयोग नहुनु नै बेरुजु भएको उहाँको भनाइ छ । सांसद शर्माले बेरुजुका कारणहरूमा समयमै हिसाब मिलान नहुनु, कर्जाको प्रभावकारी असुली नहुनु, कानूनी व्यवस्थाको कमजोरी, र व्यवहारगत अनुशासन अभाव प्रमुख रहेको बताउनु भयो । उहाँले आर्थिक अनियमितता, भ्रष्टाचार र बेरुजुको समस्यालाई एउटा निकायको मात्र समस्या नभई समग्र राज्य प्रणालीको कमजोरिको परिणामा भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सही ढंगले सदुपयोग नहुनु नै बेरुजु हुनु हो । त्यसको सही ढंगले कार्यान्वयन भएन समस्या त्यँही छ । कानूनको सुधारको कुरा, व्यवहारको सुधारको कुरा, हिसावको व्यवस्थापन र मिलानको कुरा अथवा कर्जा प्रणालीका कुराहरु, समयमा असुली नहुने कुराहरु जटील समस्याको रुपमा रहेका छन् । यी समस्यको समाधान के हो भन्ने कुरा हामीले खोज्नुपर्नेछ । अब समाधान के हो त ? समाधान भनेको आ–आफ्नो जिम्मेवारीप्रति वफादार जनताप्रति उत्तरदायी नै त्यसको सबैभन्दा समाधानको उत्तम विकल्प हो जस्तो लाग्छ । यसमा धेरै कुराहरु जोडिन्छ । समग्र राज्यको चित्र र चरित्र कस्तो छ ? हाम्रो राजनीतिक संस्कार कस्तो छ ? हाम्रो दूरदृष्टिको प्रवृत्ति कस्तो छ ? यी कुराहरु सबै थाहा पाउनुपर्छ । जसरी अहिले देशमा आर्थिक समस्या देखा परेका छन्, भ्रष्टाचार र अनियमितताको कुराहरु आइरहेका छन् । यो कुनै एउटा संस्था विशेषको जिम्मेवारीको कुरा होइन ।’
आर्थिक सुशासन कायम गर्ने सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।









