काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्ने भएको हो।
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तालाई समेटेर आज पुरस्कार विजेता छनोट गरिँदैछ। विभागका अनुसार सुरुआती महिनामै उपहार योजनामा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो।
यस्तै, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या पनि बढेको छ। यस्तो कारोबार साउनको पहिलो १५ दिनमा २ करोड ५६ लाख ८ हजार ९४ रहेकोमा पछिल्लो अवधिमा बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यही कारोबारबाट आज १७ जना विजेता छनोट गरिनेछ।
साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका लागि एक–एक जना गरी १७ जना विजेताले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कारमा लाग्ने कर कटाएर विजेताले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, सबै सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार प्रदान गरिनेछ। बम्पर विजेताले १० लाख रुपैयाँ पाउनेछन् भने उक्त पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ।
आजको कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा उपहार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको विभागले जनाएको छ।











