२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु



फाईल फोटो
अ+ अ-

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१-०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उहाँले बताउनुभयो । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।

वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उहाँका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८र२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ ।

वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको छ । रासस